आइतबार, पुष २८, २०८१
05:20 | ११:०५

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण   

रासस जनवरी ११, २०२३

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पृथ्वीनारायण शाहको ३०१औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिम द्वार अगाडिको शालिकमा माल्यार्पण गर्दै । तस्बिर- किरणराज विष्ट/रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेकी छन् ।

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा उनले पुष्पहार एवं माल्यार्पण गरेकी हुन् ।

पृथ्वी जयन्तीका अवसरमा उनीप्रति श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भीड लागेको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता छ । विश्व हिन्दू महासंघ, विश्व हिन्दू परिषद्लगायत संस्थाका प्रतिनिधिको पनि भीड लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म रयाली निकालेको छ । रयालीसहित राप्रपाले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको छ ।

जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनीले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए ।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम द्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्न सहभागी सर्वसाधारण । तस्बिर- हरिराम भेटुवाल/रासस

राष्ट्रपतिद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण

यसैबीच, राष्ट्रपति भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शन पनि गरेकी छन् । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ ।

काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए । नेपाल एकीकरणमा सेनापति पाँडेले गरेको योगदानको कदर गर्दै दहचोकस्थित उनको समाधिस्थलमा सालिक निर्माण गरिएको छ ।

राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गरिन् । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गरेका थिए । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए ।

सेनापती पाँडेको निधनपछि उनकै इच्छा अनुसार उनलाई गोरखा देखिने दहचोकमा सद्गत् गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू