एनआरएनए यूकेको नयां वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आइतबार लन्डनमा नयां वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सुनिलबाबु खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खड्कालाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए आइसीसी अध्यक्ष आचार्यले एनआरएनए यूकेमा केही उतारचढाव भएपनि झुटको खेती बढी हुन थालेको बताए । छातीमा हात राखेर सोच्न आग्रह गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघ बेलायतको इतिहासमा सर्वोत्कृष्ट कार्यसमिति मेरो रहेको दावीका साथी भन्छु । म कहिल्यै कोषाध्यक्ष र महासचिव भइन । जहिले लिडिङ रोलमा मैले गैर आवासीय नेपालीका मुद्दामा बढी फोकस गरेको छु । तर यहां अनावश्यक हल्ला फैलाइयो ।’
गैर आवासीय नेपालीका प्रमुख मुद्दा नेपाल सरकारले सम्वोधन गरेको अवस्थामा एक भएर अघि बढ्न आचार्यले अपिल गरे । गाली गलौज गर्दैमा कोही अगाडि नपुगिने पनि आचार्यको धारणा थियो ।
विशेष अतिथी बाग्मती प्रदेश सरकारका भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले नेपालमा ज्यादै कममात्र नेता राष्ट्रप्रति बफादार भएको उल्लेख गर्दै प्रदेश सरकारलाई कम अधिकार दिइएको गुनासो गरे ।
‘कि संघीयता खारेज गर कि अधिकार देउ’, उनले भने, ‘तपाईंहरु विदेशमा दुःख गर्नुभएको छ, सिस्टममा हुनुहुन्छ अनि पो देश बनेको छ। नेपालमा त न काम छ न अवसर ।’
मन्त्री पौडेलले एनआरएनए यूकेको नेतृत्वलाई सफलताको शुभकामना दिंदै एक भएर अगाडि बढ्न सुझाव पनि दिए ।
एनआरएनए आइसीसी उपाध्यक्ष डा. हेमराज शर्माले पछिल्लोपटक संघमा संसारभर जे जस्ता समस्या आए त्यसप्रति क्षमायाचना गर्दै उनले नेता र नीति परिवर्तन नभएसम्म संस्थामा सुधार नआउने बताए ।
डा. शर्माले संस्थाले बोकेका अभियान भने सबैका लागि लाभदायक भएको बताए ।
एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले सबैलाई आफ्नो काबुमा संस्था हुनुपर्छ भन्ने मान्यताले एनआरएनएमा समस्या आएको बताए ।
उनले निष्पक्ष निर्वाचन गराउने मुल जिम्मेवारी सुनिल खड्कामाथि रहेको पनि उल्लेख गरे । खड्काको कमिटी नै वैधानिक भएको जोड दिंदै सिम्खडाले मतभिन्नता रहेका सबैलाई एकै ठाउंमा ल्याउन पनि सुझाव दिए ।
एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले आर्थिक प्रतिवेदन पेश गर्दै आफ्नो कार्यसमितिले गत २०२१ अक्टोबरमा कुल एक लाख ७६ हजार ८ सय ७३ पाउण्ड लिएको बताए ।
उनले ४४ हजार ८१६ पाउण्ड संघको कोषमा मौज्जाद भएको भनिएपनि पुरानो कार्यसमितिबाट उक्त पैसा नआएको जानकारी दिए ।
यस कार्यकालमा कार्यालय सञ्चालन, ग्लोवल हेल्थ सम्मेलन, राजदूतको स्वागत कार्यक्रम, युक्रेनका युद्ध पीडित र नेपालमा बाढी पीडितलाई सहयोग जस्ता अन्य विभिन्न शीर्षकमा ५८ हजार ४७२ पाउण्ड खर्च भएको जानकारी उनले दिए ।
कोषाध्यक्ष खरेलले प्रमाणित हुन नसकेको रकम १२ हजार ५७२ पाउण्ड र अवैधानिक खर्च ८ हजार तीनसय ९६ पाउण्ड भएको पनि बताए ।
कार्यक्रम संयोजक एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठले स्वागतसहित कार्यक्रम उद्देश्यबारे प्रकाश पारे । विवाद पञ्चात एनआरएनए यूकेलाई केन्द्रबाट मान्यता पाएको सन्दर्भ जोड्दै श्रेष्ठले एनआरएनए यूकेको आर्थिक हिनामिना सम्बन्धमा भइरहेका भ्रम निवारण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको प्रष्टयाए ।
दुई चार व्यक्तिले संघको कोषमा भ्रष्टाचार गरयो भन्दैमा त्यसको विश्वास नगर्न पनि उनले आग्रह गरे ।
सन् २०२१ मा सम्पन्न बेलायतको जनगणनामा एनआरएनए यूकेको भूमिकाबारे उपाध्यक्ष गोविन्द खरेलले प्रकाश पारे भने अर्का उपाध्यक्ष मोहन कार्कीले प्रगति विवरण पेश गरेका थिए । उपाध्यक्ष कार्कीले विभिन्न उतारचढावले कतिपय काम गर्न नसकिएपनि उल्लेख्य भएको बताए ।
उनले ग्लोवल हेल्थ सम्मेलन, च्यारिटी डिनर, प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र, कोभिडका बेला नेपाललाई रेड लिष्ट राखिएकोमा त्यसलाई हटाउन गृहमन्त्रीसमक्ष ज्ञापनपत्र, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले एवं परराष्ट्रमन्त्री प्रेम आलेमगरको सम्मान र ज्ञापनपत्र हस्तान्तरण, बाढी पीडितलाई राहत वितरण, एकसय दिनको उपलक्ष्यमा कार्यक्रम, राजदूत लोकदर्शन रेग्मीको विदाई र नयां राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत, कोभिड जनचेतना कार्यक्रम, तत्कालिन परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग अन्तरक्रिया, जोन राइडरको बक्सिंग इभेन्ट, महावीर पुन र शिक्षामन्त्री देवेन्द्र पौडेलसंग अन्तरक्रिया, भूतपूर्व गोर्खाबारे ज्ञापनपत्र हस्तान्तरण लगायतका कार्यक्रम गरिएको जानकारी दिए ।
शुभकामना मन्तव्यका क्रममा एनआरएनए आइसीसी प्रेस संयोजक चिरन शर्मा, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, तमुधिं यूके अध्यक्ष हरि गुरुङ, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषाल, एनआरएनए संस्थापक सचिव चिरन्जिवी ढकाल लगायतले मन्तव्य दिंदै संघलाई एउटा समूहको मात्र नभइ समस्त बेलायतवासी नेपालीको साझा संस्था बनाउन सुझाव दिए ।
एनआरएनए यूकेको साख खस्कनुको कारण अब निर्मम समीक्षा गर्ने बेला आएको पनि वक्ताहरुले धारणा राखे ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष सुनिलबाबु खड्काले एनआरएनए आइसीसी संस्थापक सचिव चिरन्जिवी ढकाललाई विशेष सम्मान प्रदान गरे ।
त्यसैगरि, आइसीसीमा प्रतिनिधित्व गर्ने सदस्यहरु, नवनिर्वाचित तमुधिं यूके अध्यक्ष हरि गुरुङ लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिलाई आइसीसी उपाध्यक्ष डा. हेमराज शर्मा, यूके अध्यक्ष खड्का लगायतले सम्मान गरेका थिए ।
सो अवसरमा उपाध्यक्ष दीपक श्रेष्ठसहित अमन गौचन, सपना खनिया, शशांक शर्मा र उपेन पौडेलले अध्यक्ष खड्काबाट शपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा ‘एमआइएस’ प्रणालीबाट कसरी सदस्यता लिने भन्ने विषयमा प्राविधिक जानकारी दिइएको थियो । कार्यक्रममा नयाँ सदस्यता खुल्ला भएको घोषणा पनि गरियो ।
उक्त कार्यक्रम सन्चालन सचिव ज्ञानेन्द्र आलेले गरेका थिए । तस्विर- शिव भण्डारी