आइतबार, पुष २८, २०८१
09:32 | १५:१७

प्रतिनिधिसभामा दलको भूमिका सशक्त बनाउने कांग्रेसको निर्णय

रासस जनवरी ७, २०२३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

“सिंगो पार्टी एकताबद्ध र एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ”, लेखकले भने ।

बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा प्रतिनिधिसभामा विजयी गराएकामा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताले दललाई हालको भूमिकामा पुरयाउन योगदान दिएकामा पनि धन्यवाद दिएको छ ।

स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेकामा कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई आभार व्यक्त गरेको मुख्य सचेतक लेखकले जानकारी दिए ।

“निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी र सञ्चारगृहप्रति उच्च सम्मान प्रकट गरेको छ”, उनले भने ।

बैठकले संविधानसभा सदस्य तथा पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोकप्रस्ताव पारित गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनुभन्दा पहिला केही महत्वपूर्ण जानकारी नवनिर्वाचित सांसदलाई दिनका लागि बैठक आयोजना गरेको हो । यही पुस २५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् । त्यसको प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरुलाई जानकारी गराएको हो ।

संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा समेत बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए ।

संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ । “विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ”, मुख्य सचेतक लेखकले भने, “हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौं ।”

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायत पदाधिकारी एवं संघीय संसद्का सांसद सहभागी थिए ।

निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू