८ सदस्यीय मन्त्रिपरिषद् गठन, रविसहित तीन उपप्रधानमन्त्री



राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराउंदै । तस्बिर- प्रदीपराज वन्त/रासस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए ।
मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन् ।
यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन् । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हालेका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष हुन् ।
यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी छन् । उनीहरुको जिम्मेवारी तोकिएको छैन ।
राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले उपप्रधानमन्त्री एवं मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।