आइतबार, पुष २८, २०८१
11:40 | १७:२५

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा छलफल

रासस डिसेम्बर २६, २०२२
काठमाडौं ।  सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको दलहरुको बैठकमा आजै शपथ पछि सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।
“बैठकमा सबै दलहरुले आआफ्नो धारणा राखे”, उनले भने, “अब प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।” नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकार सञ्चालनका लागि सानो मन्त्रिपरिषद् गठन गर्ने उनले जानकारी दिए । “कुन दलले कतिवटा मन्त्रालय लिने भन्नेबारेमा अहिले निर्णय भएको छैन”, अध्यक्ष लामिछानेले भने ।
बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी थिए । नवनियुक्त प्रधानमन्त्री दाहालले आज ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ  ।
बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू