आइतबार, पुष २८, २०८१
11:48 | १७:३३

प्रधानमन्त्रीका लागि प्रचण्डको दाबी पेश

रासस डिसेम्बर २५, २०२२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् ।
माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतको समर्थन पेश गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।
दाहाललाई कूल एक सय ६९ सांसदको समर्थन छ । त्यसमा नेकपा (एमाले) को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।
नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको दाबी पेश गर्न समयसीमा प्रदान गरेकी थिइन् ।
बालकोटमा भएको थियो यस्तो सहमति 
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको राजनीतिक दलहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित विभिन्न सात दलका नेताको बैठकले सरकार गठन गर्नेबारे सहमति गरेको हो ।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको जानकारी दिए ।
महासचिव पोखरेलले कुन दलले के लिने भनेर ‘पावर सेयरिङ’ बारे भने सरकार गठनपछि छलफल गरिने बताए ।
दलहरूबीचको सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व माओवादी अध्यक्ष दाहालले गर्ने र राष्ट्रपति एमालेले लिने भएको छ ।
सहमतिको पहिलो चरणमा दाहालले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी समय एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू