सत्तागठबन्धन टुट्ने, सरकार बनाउन प्रचण्ड र रवि बालकोटमा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गरेको एक हप्ताको समय आज ५ बजे सकिनु अघि सो भेटवार्ता भएको हो ।
सो भेटवार्तामा एमाले, माओेवादी र रास्वपाका शीर्ष नेता पनि सहभागी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको छ ।
नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पुनः बस्ने जानकारी दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अगाडि प्रधानमन्त्री हुने भन्ने विवादले गठबन्धन नै टुट्ने अवस्थामा पुगेको हो ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलले आगामी सरकार गठनका लागि विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयास गरेपनि सहमति हुन सकेन ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।
हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा (एमाले) ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।