क्रिसमसमा सिंगारियो लन्डन (फोटो फिचर/भिडियो)
लन्डन । क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर लण्डन शहर यसपटक पनि जस्तै सिंगारिएको छ ।
लन्डनको मुख्य आकर्षक पर्यटकीय स्थलहरु रंगीबिरंगी बत्तीले झलमल्ल सजिएका छन्। विभिन्न आकर्षक ढाँचामा सजाइएको क्रिसमस ट्री र सान्ता क्लज (क्रिसमसका पिता) अवलोकन गर्न, टिकटक बनाउन र फोटो लिन मानिस व्यस्त देखिन्छन् ।
डिसेम्बर सुरुदेखि नै बेलायती घर, पसल र सडकहरुमा झिलिमिली पारेर सजाइन्छ, जसलाई अंग्रेजी नयाँ वर्षसम्म राख्ने परम्परा छ ।
विशेष गरि इसाई धर्मावलम्बीले डिसेम्बर २५ तारिख येशू ख्रीष्टको जन्मदिनको स्मरण गर्दै उत्साह र उमंगकासाथ विश्वभर क्रिसमस मनाउने गर्छन् ।
क्रिसमसलाई इसाईहरुले मात्र नभई गैर इसाईहरुले पनि धर्मनिरपेक्ष सांस्कृतिक उत्सवका रुपमा एकापसमा उपहार आदानप्रदान गरेर मनाउने प्रचलन छ ।
क्रिसमसको अवसरमा लन्डनको मुख्य केन्द्र लन्डन ब्रीज आसपास हरेक वर्ष अस्थायी क्रिसमस बजार सञ्चालन गरिन्छ, जहाँ खानपिन, कपडालगायत उपहारका विभिन्न सामान विक्री वितरण गरिन्छ । सोही क्रिसमस बजारमा यसपटक भने नेपाली खाना पनि राखिएको छ ।
‘टेष्ट अफ नेपाल’ ले आफ्नो स्टलमार्फत नेपाली परिकारहरु मम, चाउमिन, हिमालयन थुक्पा, गोर्खा सुपलगायत परिकार विक्री गर्दै आएको छ । नेपाली स्वाद चाख्न बेलायती देखि चिनिया, भारतीयसहित अन्य विभिन्न मुलुकका नागरिक लामवद्ध देखिन्थे ।
उता, लन्डनको हाइड पार्क कर्नरमा यतिखेर ‘वीन्टर वण्डरल्याण्ड’ भनिने एक विशाल क्रिसमस मेला लागिरहेको छ जुन मध्य नोभेम्बरदेखि जनवरी पहिलो हप्तासम्म रहन्छ । युरोपकै आकर्षक मानिने यस मेलामा विभिन्न किसिमका स्टल, सर्कस, आइस शो, लाइभ म्यूजिक लगायत थुप्रै बार तथा रेष्टुरेन्ट खुलेका छन् ।
गत बिहीबार सांझ यस पंक्तिकार पुग्दा सिमसिमे पानी परेपनि क्रिसमस रौनक हेर्ने पर्यटकहरु उत्साहित देखिन्थे । तर, अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष भने मानिसको भीडभाड निकै कम देखिन्थ्यो ।
आर्थिक मन्दीको चपेटामा गुज्रिरहेका बेलायतीहरुको जीवनस्तर यसपटक निकै खच्किएको देखिन्छ । क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा विभिन्न पार्टी आयोजना गर्दै आएका नेपालीहरु छिटपुटबाहेक यसपटक मौन देखिएका छन् ।
नेपालबाट कार्यक्रम गर्न आएकी चर्चित नृत्यांगना दिपासा बिसी जलपरी बेलायतमा आफ्नो केही शोमात्र रहेको बताउंछिन् । गायिका भूमिका गिरी पनि यतिखेर बेलायतमै छन् तर उनको व्यस्तता खासै छैन् ।
क्रिसमसको समयमा हिमपात हुनुलाई उत्तम मानिने लण्डनको मौसम अहिले सामान्य छ । केहिदिन अघिसम्म माइनस तापक्रम पुगेको लन्डनमा सिमसिम पानी परेपनि तापक्रम १५ डिग्रीको आसपासमा छ ।
शुक्रबारबाट यहाँका कार्यालयहरुमा छुट्टी सुरु भइसकेको छ भने स्कुलहरु केहि अघिबाट नै बन्द भइसकेका छन् । विशेषगरि यो समयमा लामो होलिडेमा जानेहरुको संख्या अत्यधिक हुने गर्दछ । यसपटक बेलायतबाट बहिरिनेको संख्या पनि विगतको तुलनामा न्यून नै रहेको लन्डनस्थित एकजना ट्राभल एजेन्ट सुनिल थापाले बताए ।
कोरोना महामारीका कारण थलिएको आर्थिक अवस्था सुध्रिन नपाउंदै रुस युक्रेन युद्धका कारण थप संकट थपियो । ब्रेक्जिटका कारण व्यापार व्यवसायमा पनि उत्तिकै असर परिरहेको छ । बेलायत रिसेसन (आर्थिक मन्दी) मा गइ सकेकाले पनि यहांको जनजीवन कष्टकर उन्मुख छ ।
भिडियो-