बेलायतका युवा व्यवसायी मल्लले हेटौडामा बाँडे राहत
मल्लद्वारा ६० बोरा चामल वितरण
लन्डन । करिब डेढ दशकदेखि बेलायत बस्दै आएका युवा समाजसेवी एवं व्यवसायी अनिल मल्लले हेटौडाका विभिन्न ठाउँमा विपन्न परिवारको लागि खाद्य सामग्री सहयोग गरेका छन् ।
कोरोना महामारीका कारण दैनिक रोजीरोटी गुमाएर संकटमा परेका उनीहरुलाई सहयोगस्वरूप मल्लले ६० बोरा चामल उपलब्ध गराएका छन् ।
हेटौडाका स्थानीय समाजसेवीहरुको उपस्थितिमा उक्त खाद्य सामग्री वितरण गरिएको थियो । युवा नेता हिक्मतजंग कार्कीको पहलमा उक्त सहयोग सामग्री जुटेको हो ।
कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्ने उद्देश्यले खाद्य सामग्री सामूहिक रुपमा वितरण नगरी सबैलाई घरघरमा लगेर वितरण गरिएको मल्लले जानकारी दिए ।
आफूले गरेको सानो सहयोग नेपालका विपन्न वर्गको लागि निकै महत्वपूर्ण हुने भएको हुँदा बेलाबखत सहयोग गर्दै आएको उनले बताए ।
हेटौडापछि पोखरामा समस्या परेका विपन्न परिवारको लागि सहयोग गर्ने लक्ष्य रहेको उनले सुनाए ।
पत्रकार महासंघ बेलायतमा समेत आवद्ध मल्ल मोना यूके युथका अध्यक्ष हुन् । अल्डरसटमा मम स्टेशन सञ्चालन गर्दै आएका उनले यसअघि पनि नेपालमा थुप्रै सहयोग गरिसकेका छन् ।
केहि समयका लागि भएपनि आफ्नो दैनिक गुजारा चलाउन मल्लले पुर्याएको योगदानप्रति सहयोग पाउने परिवारले खुशी व्यक्त गरेका छन् ।