एकैदिनमा बढे अहिलसम्मकै धेरै संक्रमित, मृत्यु हुने २० पुगे
थप एकको मृत्यु, ५ सय ८६ जनामा संक्रमण
काठमाडौँ । कोभिड-१९ का कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।
बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजापुर गाउँपालिकाका ६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै कोभिड-१९ का कारणले मृत्यु हुनेको संख्या २० पुगेको छ ।
मिर्गौलासम्बन्धी रोग लागेकी महिलाको गत जेठ ३० गते उपचारका लागि अस्पताल भर्ना भएकामा असार १ गते निधन भएको बुधबार मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ती महिलाको असार १ गते स्वाब संकलन गरी भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पाइएको थियो ।
५८६ जना संक्रमण
मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड-१९ को संक्रमण बुधबार ५ सय ८६ जनामा देखिएको जानकारी दिए । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ४६ पुरुष र ४० महिलामा संक्रमण देखिएको छ ।
आज देखिएको संक्रमणको संख्या अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ संक्रमितसँगै संक्रमितको कुल संख्या सात हजार १ सय ७७ पुगेको छ । तीमध्ये छ हजार ६ सय ३८ पुरुष र ५ सय ३९ जना महिला छन् ।
नौ डिस्चार्ज
बुधबार कोभिड-१९ को संक्रमणबाट नौ जना पुरुष निको भई घर फर्किएका छन् । प्रवक्ता डा गौतमका अनुसार महेन्द्र गेनाई अस्पताल सिराहामा छ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका दुई जना र पर्साका एक जना डिस्चार्ज भएका हुन् ।
अहिलेसम्म कुल १ हजार १ सय ६७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । तीमध्ये एक हजार ५५ पुरुष र १ सय १२ महिला छन् । यसैगरी अहिलेसम्म एक लाख ४९ हजार ७ सय ७२ जनामा पिसिआर तथा दुई लाख ३३ हजार ९ सय ४३ जनामा आरडिटी परीक्षण गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५