शुक्रबार, कार्तिक ९, २०८१
20:07 | ००:५२

विश्वकप दाबेदार ब्राजिलको उत्कृष्ट शुरुवात, सर्विया दुई शून्यले पराजित

नेपाली लिङ्क नोभेम्बर २४, २०२२

ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरे ।

लन्डन। कतारमा जारी यस वर्षको विश्वकप फुटबलको सबैभन्दा बलियो दाबेदार ठानिएको ब्राजिलले उत्कृष्ट शुरुवात गरेको छ।

विहीबार समूह चरणको पहिलो खेलमा सर्वियालाई दुई शून्य गोलअन्तरले पराजित गर्दै ब्राजिलले विजयी यात्रा सुरु गरेको हो ।  

पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो। खेलको ६२ औँ र ७३ औँ मिनेटमा भएका दुवै गोल रिचार्लिसनले गरे। 

पहिलो हाफमा ब्राजिललाई बराबरीमा रोकेको सर्वियाले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । 

समूह ‘जी’ मा ब्राजिलसँगै सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन छन्। समूहको पहिलो खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई एक शून्यले हराएको थियो।

कतार विश्वकपमा आज शुक्रबार चार खेल हुँदै

कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् ।

पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै चौथो खेलमा समूह ‘बी’ मा रहेको इङ्ग्ल्याण्डले अमेरिकाको सामना गर्नेछ । उक्त खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू