शुक्रबार, कार्तिक ९, २०८१
20:30 | ०१:१५

लेबनानी संसद राष्ट्रपति चयन गर्न सातौंपटक असफल

रासस/एएफपी नोभेम्बर २४, २०२२

बेरुत, ८ मङ्सिर–लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न बिहीबार सातौँ पटक असफल भएको छ ।

इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका विरोधीबीच संसद् विभाजित भएपछि कुनै समूहमा स्पष्ट बहुमत नहुँदा राष्ट्रपतिको चयनमा समस्या भएको हो ।

संयुक्त राज्य अमेरिकाको निकट मानिने सांसद मिचेल मोआवदले संसदका १२८ सांसदमध्ये ४२ को समर्थन प्राप्त गरेका छन्, जुन सङ्ख्या आवश्यक बहुमतभन्दा निकै कम हो । यद्यपि हिजबुल्लाह समर्थक सांसदहरूले खसालेको मतपत्रको सङ्ख्याभन्दा बढी हो ।

मोआवदको उम्मेदवारीको हिजबुल्लाहले विरोध गरेको छ, जसका नेता हसन नसरल्लाहले यसै महिना संयुक्त राज्य अमेरिकाको विरुद्धमा खडा हुन तयार राष्ट्रपतिको आह्वान गरेका थिए ।

“यो चुनावी प्रक्रिया होइन, यो सम्झौताका लागि पर्खने प्रक्रिया हो, जसले देश, जनता, अर्थतन्त्र र संविधानलाई हानि पुरयाउँछ,” क्रिश्चियन सांसद तथा मोआवद समर्थक सेमाई गेमायेलले भने ।

यसअघि पनि लेबनानमा राष्ट्रपति चयन प्रक्रियामा ढिलाइ हुने गरेको थियो ।

सन् २०१६ मा ओउनको आफ्नै निर्वाचनपछि राष्ट्रपति भवनमा दुई वर्षभन्दा बढी समय रिक्त भएपछि सांसदहरूले उनको उम्मेदवारीमा सहमति जुटाउनुअघि ४५ पटक असफल प्रयास गरेका थिए ।

तर गत महिनाको अन्त्यमा उनको कार्यकाल सकिनुअघि नै आउनको उत्तराधिकारी चयन गर्न असफल हुनु र लेबनानी आर्थिक संकट विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एक बताएको अवस्थामा हुनुमा संयोग देखिएको छ ।

आपतकालीन ऋणमा अरबौं डलरको रिहाइका लागि मार्ग प्रशस्त गर्न व्यापक सुधारहरू लागू गर्न आवश्यक छ भन्ने ऋणदाताहरूको चेतावनीको बावजुद देशमा मे देखि कामचलाउ सरकारले काम गर्दै आएको छ ।

“नसोचिएको संस्थागत शून्यताले लेबनानी जनताको समस्यालाई अझ गहिरो बनाउँदै संकट समाधान र महत्वपूर्ण सुधार अनुमोदनसम्बन्धी कुनै पनि सम्झौतामा थप ढिलाइ गर्नेछ,” विश्व बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“लेबनानको सन् २०१८ देखि वास्तविक कुल गार्हस्थ्य उत्पादनमा ३७.३ प्रतिशतले संकुचन आएको छ, जुन विश्वकै सबैभन्दा खराब मध्येको एक हो । यसले १५ वर्षको आर्थिक वृद्धिलाई समाप्त पारिसकेको छ र यसले देशको पुनरुत्थानको सम्भावनालाई खतरामा पारिरहेको छ ।

नयाँ राष्ट्रपति चयनका लागि आठौँ पटक संसद्को बैठक आगामी डिसेम्बर १ मा बस्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू