शुक्रबार, कार्तिक ९, २०८१
20:25 | ०१:१०

सहारा यूकेको १२ औं वार्षिक च्यारिटी डिनर

नेपाली लिङ्क नोभेम्बर २०, २०२२

लन्डन । सहारा यूकेले १२ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम गरेको छ । शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा अवार्ड वितरण, सांस्कृतिक प्रस्तुति र आर्थिक संकलन गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतस्थित नेपाली युवा पुस्तालाई नेपालसंग जोड्न, खेलकुद विकास र च्यारिटी कार्यमा सहारा यूकेको निरन्तर सक्रियताप्रति प्रशंसा गरे ।

राजदूत आचार्यले बेलायत र नेपालबीच झण्डै २०७ वर्ष देखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढीकरण गर्न आवश्यक रहेका बेला सहारा यूकेले सराहनीय कार्य गरेको बताए ।

बेलायतका नेपालीलाई नेपालसंग कसरी जोड्न सकिन्छ भन्नेमा दूतावास सजग रहेको र यसमा सहारा यूकेले पनि काम गरिरहेकामा राजदूत आचार्यले प्रशंसा गरे ।

सिन्धुपाल्चोक र गोरखामा विद्यालय निर्माण, पोखरामा असहाय बालबालिकालाई आर्थिक सहयोग र प्राकृतिक विपत्ति एवं कोभिड महामारीका बेला चन्दा, आहा कपमा सहयोग तथा सहभागिता आदि सहारा यूकेका उल्लेखनीय कार्य भएको राजदूतले स्मरण गरे ।

कार्यक्रमका सभापति तथा सहारा यूके अध्यक्ष ले. (रि.) कुसाङ गुरुङले सहारा यूकेले सन् २००८ मा स्थापना भएदेखि नै खेलकुद विकास र च्यारिटी कार्यमा निरन्तर काम गरिरहेको उल्लेख गरे ।

उनले सहारा क्लव पोखरासंग आवद्धता, सहारा एकेडेमीमा आश्रित २८ अनाथ बालबालिकालाई आर्थिक सहयोग, आहा रारा गोल्ड कपमा निरन्तर सहभागिता तथा सहयोग, अल्डरसट टाउन फुटबल क्लवसंग १० हजार पाउण्ड सेयर खरिद जस्ता कयौं सामाजिक तथा खेलकुद गतिविधि गरिरहेको जनाउंदै अतिथीहरु, प्रायोजक, कलाकार, सयपत्री सांस्कृतिक समूह लगायत सहयोगी सबैलाई धन्यवाद दिए ।

महासचिव मनोज गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य दिएपछि सहारा यूकेको गतिविधि सम्बन्धि वृत्तचित्र देखाइएको थियो ।

सो अवसरमा नेपालबाट आएकी नायिका तथा कोरियोग्राफर जसु गुरुङले स्वागत नृत्य र पहिलो नेपाली तारा विजेता गायक दीपक लिम्बुले कयौं गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएका थिए ।

सयपत्री सांस्कृतिक समूह यूकेका कलाकारले पनि आफ्नो नृत्य कला देखाए । सांस्कृतिक कार्यक्रम ध्रुव गौतमले सञ्चालन गरेका थिए ।

कार्यक्रममा कलाकार, सहयोगी, प्रायोजक, नयां सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा तमुधिं यूके आमा समूहले एक लाख रुपैयां सहयोग प्रदान गरेको थियो ।

सहारा यूके अवार्ड वितरण

यसैबीच, सहारा यूकेले दुई व्यक्तित्वलाई ‘सहारा यूके अवार्ड’ र ‘सहारा यूके स्पेशल अवार्ड २०२२’ प्रदान गरेको छ । सहारा यूके अवार्ड २०२२ बाट व्यवसायी तथा समाजसेवी कमल गुरुङ सम्मानित भएका छन् तमुधिं यूके संस्थापक तथा समाजसेवी मिनप्रसाद गुरुङलाई ‘सहारा यूके स्पेशल अवार्ड २०२२’ प्रदान गरियो । प्रमुख अतिथी राजदूत आचार्य र अध्यक्ष गुरुङले दुवैलाई दोसल्लासहित अवार्ड प्रदान गरे ।

सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङले सम्मानित व्यक्तित्वको नाम घोषणा गर्दै उनीहरुको योगदानबारे जानकारी दिएका थिए । पूर्व अध्यक्षहरु मीनबहादुर गुरुङ ‘साइला’, कुमार गुरुङ, दिलिप गुरुङ, नवीन गुरुङ र वर्तमान अध्यक्ष कुसाङ गुरुङ संयोजक रहेको छनोट समितिले उक्त अवार्ड दिने निर्णय गरेको थियो ।

उता, बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाजसेवा रत्न’ पदक पाएका सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङलाई पनि राजदूत र अध्यक्षबाट बधाइसहित विशेष सम्मान गरियो ।

तस्विरहरुः मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू