मंगलबार, मंसिर ११, २०८१
23:29 | ०५:१४

चीन र अमेरिका द्विपक्षीय सम्बन्ध सुधार्न इच्छुक

रासस/सिन्ह्वा नोभेम्बर १४, २०२२

बाली, इन्डोनेसिया, २८ कात्तिक—चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् ।

राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका र मानवहरूले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका बताउंदै त्यसलाई सही ढंगले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका छन् ।

जी–२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न उनीहरुको मात्रै होइन, सबै देशको दिमागमा रहेको पनि बताए ।

चिनियाँ प्रधानमन्त्री र राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

उता, चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच बहुपक्षीय विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको छ ।

त्यस अवसरमा उनीहरुबीच विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसंघको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ ।

चीन संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसंघसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिएका थिए ।

तेस्रो विश्वका देशहरुलाई ऋण तथा अन्या आर्थिक सहायताका क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहजीकरण गरिरहेको र यसमा अझै सहयोग पुरयाउनु पर्ने पनि सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले जोड दिएका थिए ।

त्यस भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राखेका थिए । यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङको ध्यानाकर्षण गराएका थिए । 

बी २० नेताहरुले गरे विश्वव्यापी आर्थिक पुनरुत्थानका लागि एकता र सहकार्यको आह्वान

ग्रुप अफ–ट्वन्टी (जी २०) को शिखर सम्मेलनमा व्यापारको आवाजको प्रतिनिधित्व गर्ने बिजिनेस–ट्वान्टी (बी–२०) का नेताले शिखर सम्मेलनमा बलियो पुनरुत्थान, समावेशी र दिगो वृद्धिका लागि बलियो अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले दुई दिने सम्मेलनको समापन समारोहमा विश्व व्यापार समुदायलाई आशावादी रहन र विश्वव्यापी पुनरुत्थानका लागि मिलेर काम गर्न आग्रह गरेका छन् । 

विडोडोले भने, “कोभिड–१९ महामारी, भूराजनीतिक तनाव, खाद्यान्न, ऊर्जा र वित्तीय संकटलगायत आज विश्वले सामना गरिरहेका विविध संकटलाई ध्यानमा राख्दै मैले भन्न चाहन्छु कि हरेक समस्या वा चुनौतीको लागि त्यहाँ सधैं चाँदीको घेरा हुन्छ । त्यसैले निराशावादी नहुनुहोस् ।” 

बी–२० इन्डोनेसियाका अध्यक्ष शिन्ता विदजाजा कामदानीले यस वर्षको बी–ट्वन्टी शिखर सम्मेलनले जी–ट्वन्टीका नेताहरूलाई आर्थिक नीति, लगानी, व्यापार लगायत अन्य क्षेत्रमा कार्ययोग्य नीतिगत सुझावहरू प्रदान गर्ने लक्ष्यका साथ विश्वव्यापी व्यापार समुदायलाई एक साथ ल्याएको बताए ।

इन्डोनेसियाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष अरशजाद रसजिदले भने, ‘बी–ट्वान्टी शिखर सम्मेलन विश्वव्यापी व्यापार र विचारक नेताहरूलाई एक साथ ल्याउने आशामा आयोजित गरिएको थियो । यसले व्यापारिक दृष्टिकोणबाट महत्वपूर्ण आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्न र प्राथमिकताका कारणहरूमा सहमति र साझा कारणहरू पत्ता लगाउन संयुक्त मोर्चा बनाएर अगाडि बढ्न सकियोस् ।’

जी–२० का सदस्य अर्थतन्त्रका व्यापारिक प्रतिनिधिहरूको शिखर सम्मेलन बी–ट्वन्टी शिखर सम्मेलनले विश्वव्यापी आर्थिक शासनमा भाग लिन विश्वभरका उद्यमहरूका लागि महत्वपूर्ण मञ्चको रूपमा काम गर्दछ ।

इन्डोनेसियाको बाली टापुमा मंगलबार र बुधबार जी–२० नेताहरूको शिखर सम्मेलन हुँदैछ ।

‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मूल नाराका साथ आयोजना हुने जी–ट्वन्टी शिखर सम्मेलनले विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा संक्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा प्राथमिकताका विषयमा ध्यान केन्द्रित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू