शुक्रबार, कार्तिक ९, २०८१
20:30 | ०१:१५

भूतपूर्व गोर्खा वार्ताबारे बेलायती सांसदमार्फत दवाव

नेपाली लिङ्क नोभेम्बर १३, २०२२

लन्डन । भूतपूर्व गोर्खा वार्ताबारे बेलायती सांसदलाई अवगत गराइएको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आइतबार बेलायती सांसद तथा सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष वीरेन्द्र शर्मालाई भेटेर वार्ता सम्बन्धमा ‘अपडेट’ गराएको हो ।

सत्याग्रहले भूतपूर्व ब्रिटिश गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ता प्रारम्भ भएपनि उल्लेख्य प्रगति नभएको सांसद शर्मालाई अवगत गराएको थियो ।

भूतपूर्व गोर्खाहरुका तर्फबाट प्रवक्ता तथा मध्यस्तकर्ता मेजर रिटायर्ड जुदबहादुर गुरुङले सांसद शर्मालाई वार्ताको विकसित घट्नाक्रमबारे अवगत गराउंदै यो मुद्दा संसदमा लगेर बेलायत सरकारलाई झकझकाइदिन आग्रह गरेका छन् । प्रत्युत्तरमा सांसद शर्माले भूतपूर्व गोर्खाले अधिकार पाउनुपर्छ भनेर आफू विगत देखि नै लागिपरेको र अब पनि थप दवाव दिन पहल गर्ने आश्वासन दिएका थिए ।

सांसद शर्मासंग सत्याग्रहको भेट सोलिसिटर राजु थापाले संयोजन गरेका हुन् । उक्त भेटमा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई, अभियान निर्देशक ज्ञानराज राई, महासचिव सइन्द्र केसी र कोषाध्यक्ष विष्णु गुरुङ तथा सोलिसिटर राजु थापा सहभागी थिए ।


लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा दुई साताअघि भएको पहिलो बैठकमा नेपाल सरकारको नेतृत्व गरेका राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बांकी रहेका मागहरुकाबारेमा आफ्नो अवधारणा 
राखेका थिए ।

बेलायतको तर्फबाट वार्तामा सहभागी रक्षा तथा भेट्रान राज्यमन्त्री डा. एन्ड्रु मरिसनले पेन्सन सवाल ‘जटिल’ भएको र आफू मन्त्रालयमा आएको तीन दिनमात्र भएकाले यसबारे थप बुझेर अर्को वार्तामा छलफल गर्ने आश्वासन दिएका थिए । यही नोभेम्बरभित्र अर्को वार्ता हुने सम्भावना भएपनि मिति भने तय भइसकेको छैन् । तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू