नेपालले पहिलोपटक विश्वकप क्रिकेट आयोजना गर्ने
काठमाडौं । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो ।
अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।
त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ ।
त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पुरयाउन मद्दत पुग्ने विचार व्यक्त गरे ।
उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए । अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनका लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासका लागि सरकारसँग कुरा गर्ने पनि बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५