शुक्रबार, कार्तिक ९, २०८१
20:31 | ०१:१६

क्रस–च्यानल पार गरी बेलायत प्रवेश गर्नेको सङ्ख्या ४० हजार बढी

रासस/एएफपी नोभेम्बर १३, २०२२

लन्डन, २७ कात्तिक– सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ ।

यस वर्ष प्रवेश गर्ने कूल आप्रवासीको सङ्ख्या ४० हजार ८८५ छ, जसमध्ये अधिकांश अल्बानियाली, इरानी र अफगानी छन् । यो सङ्ख्या गत वर्षभन्दा करिब १२ हजार बढी हो ।

गत वर्ष च्यानल पार गरेर बेलायत पुग्ने आप्रबासीको सङ्ख्या २८ हजार ५६१ भन्दा बढी रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

शनिबार मात्रै २२ वटा डुंगामा करिब ९७२ जनाले जोखिमपूर्ण च्यानल पार गरेको जनाइएको छ ।

यो सङ्ख्या वर्षौंदेखि बढ्दै गएको छ । बेलायत सरकारका अनुसार सन् २०१८ मा करिब २९९ जनाले यो बाटो प्रयोग गरेका थिए ।

त्यसैगरी सन् २०१९ मा एक हजार ८४३ र सन् २०२० मा आठ हजार ४६६ व्यक्तिले उक्त मार्ग प्रयोग गरेका थिए ।

आप्रवासीहरूलाई रुवान्डा पठाउने योजनासहित बेलायतका विभिन्न पहलका बावजुद यो सङ्ख्या निरन्तर बढिरहेको छ, जुन अदालतहरूमा अवरुद्ध गरिएको छ ।

गत साता बेलायती प्रधानमन्त्री ऋषि सुनकले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंसँग पहिलो पटक प्रत्यक्ष भेट गरेपछि फ्रान्ससँग सहमति भएको नयाँ योजना अनुसार काम भइरहेको बताएका थिए ।

शुक्रबार भएको वार्तामा फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोना र बेलायती समकक्षी जेम्स क्लेभरलीले साना डुङ्गा पार गर्नेलगायत सबै प्रकारका अवैध आप्रवासनको सामना गर्न र यसका मूल कारणहरूलाई सम्बोधन गर्न जोड दिएका थिए ।

बढ्दो आप्रबासी सङ्ख्याका कारण शरणार्थीको दाबीमा अवरोध उत्पन्न भएको छ र बेलायती सरकारले आवास खर्च प्रतिदिन ६.८ मिलियन पाउन्ड (७.८ मिलियन अमेरिकी डलर) पुरयाएको छ ।

यसले स्थानीय सेवाहरूलाई तनाव र जन आक्रोशलाई बढावा दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू