शुक्रबार, कार्तिक ९, २०८१
20:19 | ०१:०४

बेलायती विदेश मन्त्रालयमा पहिलोपटक नेपाली डायस्पोरासँग राउन्ड टेबल

नेपाली लिङ्क नोभेम्बर ९, २०२२

लन्डन। बेलायती विदेश मन्त्रालयले यहाँको नेपाली समुदायसँग राउन्ड टेबल छलफल गरेको छ।

फरेन, कमनवेल्थ एन्ड डिभलपमेन्ट अफिस (एफसिडिओ) को नेपाल डेस्कले बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिको मत तथा सुझाव संकलन गर्ने उद्धेश्यले पहिलो पटक यस्तो छलफल गरेको हो।  

बुधबार अपरान्ह लन्डन वेष्ट मिनिस्टरस्थित मन्त्रालयमै आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसंगै एफसिडिओका नेपाल डेस्क अधिकारीहरु सहभागी थिए।

नेपाली समुदायबाट बुद्धिजिवी, व्यवसायी, नेपाली मूलका बेलायती जनप्रतिनिधि काउन्सिलर एवम् सञ्चारकर्मीको प्रतिनिधिमुलक सहभागिता रह्यो।

छलफलका क्रममा राजदूत पोलिटले नेपालमा बेलायती दूतावासका प्राथमिकताका क्षेत्रहरुबारे प्रकाश पारेकी थिइन्।

दुई देशबीचको कूटनीतिक तथा व्यापार-लगानी सम्बन्धको प्रवर्द्धनका साथै जलवायु परिवर्तनविरुद्ध साझा पहल, नेपालको स्वास्थ्य, शिक्षा, सुरक्षादेखि महिला सशक्तिकरण, सामुदायिक स्तरमा क्षमता निर्माण लगायतका एजेन्डामा प्राथमिकतासाथ बेलायतले आफ्नो सहयोग केन्द्रित गरेको उनले जनाइन्।

बेलायतले नेपालमा आफ्नो भूमिकालाई बहुआयामिक बनाउँदै जान र सिधा जनस्तरसम्म पुर्‍याउन चाहेको भन्दै राजदूत पोलिटले राउन्ड टेबल छलफलमार्फत् बेलायतको नेपाली समुदायको धारणा बुझ्न् खोजेको बताइन्।

त्यस अवसरमा धारणा राख्ने नेपाली समुदायका प्रतिनिधिले बेलायती बहालवाला प्रधानमन्त्रीको नेपाल भ्रमण गराएर द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाई दिने, दुई देशबीचको व्यापार-लगानीका क्षेत्रमा रहेका विविध अड्चनहरु हटाउने, भूपू गोर्खाहरुको लागि भिजा व्यवस्थामा सहजिकरण गर्ने जस्ता कार्यमा पहल गर्न राजदूत पोलिटलाई सुझाव दिएका थिए।

उनीहरुले भूपू गोर्खाको पेन्सन मुद्धादेखि बेलायतमा बस्ने नेपाली मूलका बेलायतीहरुले मातृभूमिसँगको सम्बन्ध र सम्पर्कका क्रममा व्यहोर्दै आएका विविध व्यवहारिक समस्याहरुको समाधानका लागि समेत बेलायती राजदूतको ध्यानाकर्षण गराएका थिए।  

कार्यक्रममा युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डा. तेजेन्द्र फेराली, काउन्सिलरत्रय विष्णुबहादुर गुरुङ, लक्ष्यबहादुर गुरुङ र जीत रानाभाट, व्यवसायी विकास नेपाल, अभियन्ता आस्था पौडेल, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल र महासचिव नरेन्द्र बस्नेतको प्रत्यक्ष सहभागिता थियो। 

त्यस्तै, राउन्ड टेबल छलफलको पहल गर्ने युवा अभियन्ता प्रशान्त कुँवर, वरिष्ठ सञ्चारकर्मी भगीरथ योगी, चर्चित ब्लगर लेक्स लिम्बूलगायतले भर्चुअल सहभागिता जनाएका थिए।  

कार्यक्रम सञ्चालक एफसिडिओका नेपाल डेस्क अधिकारीहरुले छलफल प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू