मंगलबार, मंसिर ११, २०८१
02:30 | ०८:१५

विश्वकप तयारीका क्रममा मारिएका वा घाइते कामदारलाई कतारले हेरेन

रासस/एएफपी नोभेम्बर २, २०२२

दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशाला । तस्बिर एएफपी

दोहा, युएई, १६ कात्तिक–कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ ।

कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै कतारले लाखौं डलर भुक्तानी नगरेको तलब दिइसकेको बताएका छन् । साथै उनले खाडी राष्ट्रका आलोचकमाथि ‘जातिवाद’ को आरोप लगाएका छन् ।

मारीले कतारसँग कामदारको मृत्यु र घाइतेको उपचारका लागि कोष रहेको बताए ।

‘फिफाको नेतृत्वमा क्षतिपूर्ति अभियानको यो आह्वान पब्लिसिटी स्टन्ट हो’, उनले एक विशेष अन्तर्वार्तामा भने, ‘हाम्रो ढोका खुला छ । हामीले धेरै मुद्दाको निरुपण र समाधान गरेका छौं ।’

एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले फिफा र कतारलाई ४४ करोड अमेरिकी डलर बराबरको कामदारका लागि कोष बनाउन माग गरेका छन् ।

मानव अधिकारवादी समूहहरूले कतारले मृत्युको रिपोर्टिङ कम गरेको आरोप लगाएका छन् । कतार सरकारले निर्माणस्थलमा भएका दुर्घटना वा गर्मीका कारण हुने रोगका कारण हजारौँको मृत्यु भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ ।

फिफाले कोषको बारेमा ‘निरन्तर संवाद’ भइरहेको बताएको छ, तर सरकारको पहिलो सार्वजनिक टिप्पणीमा मारीले भने, “यो प्रस्ताव अव्यावहारिक थियो ।”

यस पहिले गत आइतबार मारीले हरेक मृत्यु एक प्रकारले दुःखद् भएपनि यी कोषहरू स्थापना गर्ने कुनै मापदण्ड नभएको बताएका थिए ।

उनले प्रतिप्रश्न गर्दै भने, “पीडित कहाँ छन्, पीडितको नाम छ, यो नम्बर कसरी प्राप्त गर्न सकिन्छ ?”

केही अन्तर्राष्ट्रिय ट्रेड युनियनका नेताहरूले पनि नयाँ कोष स्थापना र व्यवस्थापन गर्न निकै जटिल हुने बताएका छन् ।

कतारले सन् २०१८ मा श्रमिक सहायता तथा बिमा कोषको स्थापना गरि तलब नपाएका कामदारलाई सहयोग गरेको थियो ।

उनले भने, “क्षतिपूर्ति नपाएको व्यक्ति छ भने उनीहरू अगाडि आउनुपर्छ र हामी उनीहरूलाई सहयोग गर्नेछौँ । कतार एक दशकभन्दा अघिका मुद्दा हेर्न तयार छ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू