शुक्रबार, कार्तिक ९, २०८१
20:19 | ०१:०४

बेलायतले बनाइदिएको झोलुंगे पुल भत्किँदा १४१ जनाको मृत्यु

रासस/एएनआई अक्टोबर ३१, २०२२

नदीमा डुबेकाको उद्दार कार्यमा जुट्दै उद्दारकर्मी । तस्बिर- एएफपी

मोर्बी (गुजरात), १४ कात्तिक–भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ ।

एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो ।

हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् ।

बेलायतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो ।

गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ ।

राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर च सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू