शुक्रबार, कार्तिक ९, २०८१
20:24 | ०१:०९

दक्षिण कोरियाली राजधानीमा भागदौड मच्चिँदा १५० बढीको मृत्यु

रासस/एएफपी अक्टोबर ३०, २०२२

सियोल, १३ कात्तिक-दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

ईसाई धर्माबलम्बीहरूले प्रत्येक बर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागी मानिसहरू राजधानीको प्रसिद्ध इटावोन जिल्लामा भागदौड हुँदा शनिबार उत्सवमा सहभागी राति एक लाखभन्दा बढी मानिस त्यस क्षेत्रका साँघुरा गल्ली र घुमाउरो सडकहरूमा थुनिएपछि उक्त अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख ब्यक्ति गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आइतबार राष्ट्रिय शोकको घोषणा गर्दै टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, “एउटा त्रासदी र विपत्ति आयो जुन हुनु हुँदैनथ्यो ।”

उनले अगाडि, “सरकारले घटनाको विस्तृत अनुसन्धान गर्नेछ र भविष्यमा फेरि यस्तै दुर्घटना नहोस् भनी आवश्यक सुधार गर्नेछ तथा सावधानी अपनाउनेछ ।”

दुर्घटनास्थल भ्रमणअघि सञ्चारकर्मीसँग बोल्दै राष्ट्रपति योलले भने, “घटनापछि मेरो हृदय भारी बनेको छ र पीडा नियन्त्रण गर्न गाह्रो भएको छ ।”

प्रत्यक्षदर्शीहरूले साँघुरो, ढलान भएको गल्लीमा फसेका मानिसहरू एकअर्कामाथि ढलेका र घुँडा टेकी उठ्ने र भीडबाट बाहिर निस्कन कोसिस प्रयास गर्दागर्दै भीडले कुल्चेर जीवन त्याग्न बाध्य भएका बताएका छन् ।

स्थानीय समयानुसार राति १० बजे भएको भागदौडमा परी १९ विदेशीसहित कम्तीमा १५१ जनाको मृत्यु भएको अग्नी नियन्त्रण विभागले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश २० वर्ष भन्दा कम उमेरका युवती रहेको र ८९ जना घाइते भएको बताइएको छ ।

गृह मन्त्रालयले मृतकमध्ये अधिकांशको पहिचान भइसकेको जनाएको छ ।

“हेलोवीन घटनाका क्रममा धेरैलाई कुल्चिएका कारण हताहत हुनेको सङ्ख्या धेरै हुनगएको छ”, अग्नि नियन्त्रक चोइ सियोङ–बिओमले घटनास्थलमा रहेका पत्रकारहरूलाई बताए । घटनामा कैयौँ व्यक्ति सख्त घाइते भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए ।

सियोलका अधिकारीहरूले आइतबार बिहानसम्म ३५५ जना हराइरहेका अपुष्ट रिपोर्ट प्राप्त भएको जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू