शुक्रबार, कार्तिक ९, २०८१
19:53 | ००:३८

बेलायतसंग मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी   

रासस अक्टोबर २८, २०२२

मैत्रीपूर्ण खेलमा बिजयी भएपछि खुसी साटदै नेपाली महिला क्रिकेट टोली । तस्बिर- राधिका कँडेल, पोखरा

कास्की । नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट संघ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाली टोलीकी कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।

खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ की नेरी थापाले ३१ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाएकी थिइन् ।

खेलमा जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको एमसीसी १९ ओभरको पाचौँ बलमा सवै विकेट गुमाएर ८० रन मात्र बनाउन सफल भयो । एमसीसीका लागि एलिसा हुबर्डले २८ बलमा सर्वाधिक २० रन बनाउँदै अविजित रहिन् ।

एमसीसीका लागि अन्तिम ओभरमा जितको लागि २० रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेकी रुबिनाले अन्तिम पाँच बलमा चार विकेट लिन सफल भइन् ।

रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौ बलमा समेत विकेट लिएपछि एमसीसी नेपाली टोलीसँग पराजित हुन पुग्यो ।

खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित नेपाली टोली कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे ।

नेपाल भ्रमणमा रहेको एमसीसीले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ ।

शनिबार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू