शुक्रबार, कार्तिक ९, २०८१
20:24 | ०१:०९

सञ्चारकर्मी मिलन तमुलाई ‘आदर्श तमु’ अवार्ड

नेपाली लिङ्क अक्टोबर २४, २०२२

लन्डन । गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवम् सञ्चारकर्मी मिलन तमु तमुधिं यूकेको ‘आदर्श तमु अवार्ड २०२२’ अवार्डबाट सम्मानित भएका छन् । 

तमुधिं यूकेको शनिबार २२ अक्टोबरका दिन आयोजित परोपकारी रात्रिभोज कार्यक्रममा प्रमुख अतिथि नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले तमुलाई अवार्ड हस्तान्तरण गरेका हुन् । सम्मानित तमु तमुधिं यूकेको आजीवन सदस्य हुन् । अवार्ड ग्रहणमा तमुकी पत्नी विमला गुरुङ पनि सहभागी भएकी थिइन् ।

पूर्वगोर्खा तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन् । दुई वर्षअघि तमुले एकल स्वामित्वमा गोर्खा मिडिया डटकम अनलाइन सञ्चालनमा ल्याएका छन् । 

पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यकारिणी सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके)का सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहकार जस्ता विभिन्न संघसंघमा आबद्ध छन्।   

सोही समारोहमा  तमु आदर्श अवार्डबाट तमुधिं यूकेका सल्लाहकार मेजर कृष्ण गुरुङ, पूर्वखेलकुद सचिव तथा क्वोंने (घोताने/घोण्डे) तमु (गुरुङ) समाज यूकेका अध्यक्ष क्या. पिताम्बर गुरुङ, सल्लाहकार तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ र सहारा यूकेकी ‘फस्ट लेडी’ पन्च गुरुङ पनि सम्मानित भएका छन्। 

को हुन् मिलन तमु ?

नेपाली डायस्पोरामा सर्वाधिक चर्चामा आइरहने एउटा व्यक्ति छ, जो आफ्नो कर्ममा विश्वास गर्छ, लगनशीलता र मेहनतमा रमाउँछ । सरलता र ईमान्दारितामा खुशी हुन्छ, समाज सेवालाई परम धर्म ठान्छ, अविछिन्न समाज सेवामा लागिरहन्छ । उनी समाजमा एउटा उदाहरणीय व्यक्तिको रुपमा चिनिन्छन्। उनी हुन् मिलन तमु गुरुङ ।

मर्दि हिमालको काखमा अवस्थित माछापुछे गाउँपालिका अन्तर्गतको रमणिय गाउँ रिभान मिलनको पुर्जीली गाउँ हो । पोखरा महानगरपालिका नयाँबजारको स्थायी बासिन्दा मिलन हाल श्रीमती बिमला गुरुङ, छोरा मिसाल गुरुङ र मिसान गुरुङ र बुहारी अक्षिता गुरुङको साथमा बेलायतको अल्डरसटमा बस्छन् ।

सन् १९६५ मा बुवा शिरधोज गुरुङ र आमा स्व. डिलकुमारी गुरुङको पहिलो सन्तानको रुपमा हङकङमा उनको जन्म भएको हो । मिलनको वाल्यकाल पुर्जीली गाउँमै बितेको हो। दुखको कुरा २-३ वर्षको कलिलो उमेरमा आमाको देहावसान भएकोले उनी आमाको माया र स्नेहबाट वञ्चित रहनुपर्यो ।

गाउँको विद्यालयबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि बराह माध्यमिक विद्यालय भेडाबारी बाट एस.एल.सी. सम्मको अध्ययन पश्चात वहाँ ब्रिटिश आर्मीमा भर्ती भए। ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेर सेवा निवृत्त भए पश्चात दोस्रो करियरमा वहाँ बुनाई जीआरयुमा गए 

बेलायत सरकारले गोर्खा सैनिकको परिवारलाई बेलायतमा रहन पाउने आवासीय भिषा प्रदान गरेपछि उनी पनि बेलायत आए। यो २००५ को समय थियो । बेलायत आगमन पश्चात तमुधिं यूकेको आजीवन सदस्य बने र लगत्तै कार्यसमितिमा रहेर लामो समय सेवा गरे ।

तमुधिं यूके नेपाली डायस्पोराकै ठूलो र क्रियाशिल संस्था हो । गोर्खाकप, नेपाली मेला, तमु प्रतिष्ठान नेपालको सहयोगार्थ गरिने च्यारिटी डिनर साँझ, डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङ स्मृति दिवस, कल्याणकारी (आजीवन सदस्य) डिनर साँझ, तमुहरुको महान पर्व ल्होछार र तमुधिं यूकेले आयोजना गरेको नेपालको अवलोकन अध्ययन भ्रमण लगायतको कार्यक्रमहरुमा मिलनको साथ र सहयोग रहिरहन्छ । यो तमुधिंप्रति उनको त्याग र तपस्या हो, तमुधिं यूके प्रतिको सेवा र समर्पणको भाव हो।


ब्रिटिश लाहुरेको छोरा ब्रिटिश लाहुरे जनजातिको छोरोको परिचय भएको मिलन तमुले आफूलाई छुट्टै परिचयले चिनाएका छन्। मुलत फोटो पत्रकार उनको चिनारी हो । तर त्यतिले मात्रै उनको परिचय खुल्दैन । बेलायतबाट प्रकाशित भएको एभरेष्ट साप्ताहिकमा आवद्ध भएर पत्रकारितामा लामो योगदान गरे ।

अहिले उनले आफ्नो स्वामित्वमा गोर्खा मिडिया अनलाईन पत्रिका संचालन गरिरहेका छन्। गोर्खा मिडियाको उनी प्रबन्ध निर्देशक छन् । प्रत्येक नागरिकले पाउनुपर्ने सूचनाको हक प्रदान गरि समाजलाई ठूलो गुण लगाइरहेका छन्।

मिलन तमु गीत लेखनमा पनि सक्रिय छन् । ‘रोधीघरको आँगन’  बोलको गीत भाग १ बाट क्रमश: ३ भागसम्म उनले सार्वजनिक गरेका छन्। जुन दर्शक र स्रोताले अत्यन्त रुचाएको गीतमा दर्ज भएको छ ।

त्यस्तै उनले सफल गुरुङ चलचित्र युम्पो देउराली निर्माण गरेका छन् । यस अतिरिक्त उनले  आफ्नो गाउँ लगायत नेपालको विभिन्न ठाउँहरुमा बाटो, मन्दिर, गुम्बा र क्होइबो निर्माणमा सहयोग गरेका छन्।

तमुले समाजलाई पुर्‍याएको योगदानको कदरस्वरुप उनले थुप्रै मेडल, आभुषण, सम्मानपत्र प्राप्त गरेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू