सोमबार, पुष २९, २०८१
14:41 | २०:२६

आरजीएनएस दशैंतिहार कार्यक्रम आइतबार, कम्युनिटी अवार्ड पनि वितरण गरिने

नेपाली लिङ्क अक्टोबर २१, २०२२

लन्डन। साउथ इष्ट लन्डनस्थित नेपालीहरुको प्रतिनिधिमुलक  संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (आरजीएनएस) ले स्थानीय नेपाली समुदायमा योगदान गर्नेहरुलाई कम्युनिटी अवार्ड प्रदान गर्ने भएको छ। 

आरजीएनएसको आयोजनामा यही आइतबार अक्टोबर २३ मा  एशियन कम्युनिटी सेन्टर प्लमस्टिडमा हुने दशैंतिहार शुभकामना कार्यक्रममा अवार्ड वितरण गरिने भएको हो।

आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाटले विभिन्न तीन विधाको अवार्डमार्फत् समुदायमा योगदान पुर्‍याउनेहरुलाई प्रोत्साहन गर्न लागिएको बताए। कल्चरल अवार्ड, कम्युनिटी इन्टिग्रेसन अवार्ड र भोलुन्टियर सर्भिस अवार्ड प्रदान गरिने उनले जानकारी दिए ।  

अध्यक्ष रानाभाटका अनुसार कल्चरल अवार्ड स्थानीय समुदायमा नेपाली संस्कृति, भाषा, कलाको प्रवर्द्धनमा योगदान गर्नेलाई प्रदान गरिनेछ।

त्यस्तै, सामुदायिक इन्टिग्रेसनमा योगदान पुर्‍याउने संस्थालाई कम्युनिटी इन्टिग्रेसन अवार्ड र स्वयमसेवामार्फत् समुदायमा योगदान गर्ने एक अभियन्तालाई भोलुन्टियर सर्भिस अवार्ड प्रदान गरिनेछ।

अवार्ड विजेता चयनका लागि समाजका विभिन्न क्षेत्रमा अनुभवी र विज्ञहरुको सहभागितामा पाँच सदस्यीय निर्णायकमन्डल बनाइएको अध्यक्ष रानाभाटले जनाए।  

विभिन्न ढंगबाट समुदायको सेवामा खटिने समाजसेवीहरुको हौसला बढाउने अवार्डको लक्ष्य रहेको उनको भनाइ छ।

अवार्ड वितरण हुने आरजीएनएस दशैंतिहार शुभकामना कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ग्रीनवीच बरो मेयर लियो फ्लेचर, बेलायती सांसद एबिना असारे, स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर, काउन्सिलरसहित बेलायतका विभिन्न नेपाली संस्था र समुदायका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागी हुँदैछन्। 

चाडपर्वहरुको सेरोफेरो र कोभिड १९ को लामो चपेटापछि हुन लागेको कार्यक्रमले स्थानीय नेपालीहरुबीच सुखद जमघटको अवसर सिर्जना गर्ने आशा गरिएको छ ।

साथै, कार्यक्रममार्फत् केही कोष जम्मा गरी स्थानीय ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि उपयोगी कार्यक्रममा खर्च गर्ने योजना बनाइएको छ।

कार्यक्रममा नेपालबाट आएका हास्यकलाकारद्वय राजु मास्टर र बल्छी ध्रुवेका साथै नेपाल आइडल -४ विजेता भूपेन्द्र थापा र गायक प्रकाश कटुवालको विशेष प्रस्तुति रहनेछ । साथमा दीपक गौतम, सुनिता गौतम, प्रसुना कंडेलसहितका स्थानीय कलाकारले पनि प्रस्तुति गर्नेछन्।

कार्यक्रम सञ्चालन आरजीएनएस महासचिव मञ्जु भन्डारीले गर्नेछिन् ।  

कार्यक्रम संयोजन सल्लाहकार एलएन पाण्डे र तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङ, आर्थिक संयोजन आरजीएनएस सल्लाहकारद्वय मोहन गुरुङ र राजन खकुरालले गर्दैछन् भने अतिथि सत्कारको जिम्मेवारी आरजीएनएस वरिष्ठ उपाध्यक्ष पुण्य रेग्मीले सम्हालेका छन्।  

कार्यक्रममा प्रवेश शुल्क मात्र १० पाउन्ड राखिएको छ। जसमा   डिनर समेत उपलब्ध गराइनेछ।

कार्यक्रममा ५ सय बढी स्थानीय  नेपालीको सहभागिता आयोजकले अपेक्षा गरेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू