शुक्रबार, कार्तिक ९, २०८१
20:24 | ०१:०९

हिमालय जेटको निम्तोमा मिस वर्ल्ड लण्डनमा, नेपाल घुम्ने चाहना

नेपाली लिङ्क अक्टोबर २१, २०२२

लन्डन – मिस वर्ल्ड लिमिटेड र हिमालय जेट लिमिटेडले जलवायु परिवर्तन फोरमद्वारा आयोजित ‘दिगो विकासका लागि विश्वव्यापी लगानी’ सम्मेलनमा उपस्थिति जनाएका छन् । 

ब्रुनाई इन्भेष्टमेण्ट एजेन्सी (बीआईए) को स्वामित्वमा रहेको लण्डनको द डोरचेस्टर होटलमा १८ र १९ अक्टोबर तथा हाउस अफ लर्ड्समा २० अक्टोबरमा आयोजित तीन दिने कार्यक्रममा ओडस्टकका लर्ड मारल्याण्ड, शोरेडिचका लर्ड नाट वेई, बेलायतका जलवायु राज्यमन्त्री ग्राहम स्टुअर्ट, विदेश मामिला सेलेक्ट कमिटीका एन्ड्रयू रोजिन्डेल एमपी, मास्टरकार्डका उपाध्यक्ष डेरेन पावेलसहित अमेरिका, युरोप, मध्य पूर्व र एशियाका कयौं अर्बपतिहरूको उपस्थिति थियो। 

कार्यक्रमका क्रममा धेरै उच्चस्तरीय व्यक्तित्वहरू लगायत मिस वर्ल्डले हिमालयमा बिदा मनाउन चासो देखाएका थिए । सीसी फोरमको अर्को संस्करण संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित बेभर्ली हिल्स होटल (डोरचेस्टर कलेक्शन) मा आयोजना हुने तय भएको छ ।

हिमालय जेटका कार्यकारी निर्देशक दिपेन्द्र गुरुङ एमआईओडीको निजी निम्तोमा आगामी ७१ औं मिस वर्ल्ड इभेन्टका साथ ‘ब्यूटी विथ अ पर्पस’ मा सहकार्यका लागि मिस वर्ल्ड २०२२ सुश्री क्यारोलिना बिएलाव्स्का पनि समारोहमा आएकी थिइन् । 

७० भन्दा बढी वर्षको विरासत र २ अर्बभन्दा बढीको वार्षिक दर्शकका साथ मिस वर्ल्ड इभेन्ट्सले ऐश्वर्या राई (बलिउड सुपरस्टार), प्रियंका चोपडा (हलिउड स्टार), रोलेन स्ट्रसजस्ता चर्चित सेलिब्रेटीहरूको करियर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ भने नेपालीमूलका गुरुङ परिवारको स्वामित्वमा रहेको हिमालय जेट बेलायतमा आधारित प्रिमियम लामो दूरीको वाहकले प्रमुख युरोपेली र अमेरिकी शहरहरूलाई हिमालय क्षेत्रसँग जोड्ने छ । 

यो समूहले हिमालय जेट, विश्वभरका विभिन्न उच्चस्तरीय होटलहरूमा रहेको प्राइभ लक्जरी सिनेमाहरू, ह्युगो स्पोर्सको रिभरसिम्पलमा हाइड्रोजन पावर्ड अर्बन कार जस्ता धेरै पर्यावरण–मैत्री र नवीन उद्यमहरूमा लगानी गरेको छ भने अब मिस वर्ल्ड इभेन्टहरू संयुक्त रूपमा आयोजना गर्दैछ ।


सो अवसरमा विश्व सुन्दरी क्यारोलिनाले हिमालय जेट, मिस वर्ल्ड र सीसी फोरमले आफूलाई कार्यक्रमको हिस्सा बनाएकोमा कृतज्ञता व्यक्त गर्दै भनिन्- “म यस कार्यक्रमको एक हिस्सा हुन पाउँदा उत्साहित छु । दीपेन्द्र र हिमालय जेटसँग काम गर्न र नेपाल उड्न पाउँदा साथै सँगै धेरै सुन्दर चीजहरू सिर्जना गर्न पाउँदा म धेरै खुसी छु।“ 

उनले मिस वर्ल्डको अनुभव र यसले आफ्नो जीवनमा परेको प्रभाव बारेमा पनि सुनाइन् ।

मिस वर्ल्डकी अध्यक्ष र सीइओ जुलिया एभलिन मोर्लीका छोरा कार्यकारी निर्माता स्टीफन मोर्लीले भने- ‘मिस वर्ल्ड र गुरुङ परिवारले मिस वर्ल्डको भावी संस्करणहरूका लागि छिट्टै सामूहिक प्रेस सम्मेलन गर्नेछन् । हाम्रो ७१ औं संस्करणका लागि हामी आयोजक राष्ट्रको रूपमा सिंगापुर, जापान वा पोल्याण्डलाई अन्तिम रूप दिइरहेका छौं र ७२ औं संस्करण हामी हिमालय क्षेत्रमा गर्न गइरहेका छौं । आगामी कार्यक्रमहरू ऐतिहासिक हुनेछन् र मिस वर्ल्डका साथै ब्यूटी विथ पर्पस नयाँ उचाइमा जानेछ ।’

हिमालय जेटका चीफ अपरेटिङ अफिसर क्रिस होलिडेका अनुसार हिमालय जेटले युरोपदेखि हिमालयसम्म सिधा उडानहरू प्रदान गर्दै प्रिमियम लामो दुरीको क्यारियरको रूपमा सन् २०२३ को शुरुवातदेखि आफ्नो सञ्चालन सुरु गर्ने तयारी गरेको छ । 

‘युरोप र उत्तरी अमेरिकाका पर्यटक र त्यहाँ बसोबास गर्ने नेपाली र भारतीयहरूसँगै हिमालय क्षेत्रमा यात्रा गर्न चाहने सबै हिमालय जेटको सेवाबाट लाभान्वित हुनेछन् किनभने यो एयरलाइन्सले युरोपेली यात्रुहरूका लागि झन्झटपूर्ण ट्रान्जिटहरू हटाउनेछ र उत्तर अमेरिकी यात्रुहरूका लागि ट्रान्जिटहरू घटाउनेछ’, उनले भने । क्रिस ३५ वर्षदेखि उड्डयन उद्योगका अनुभवी हुन् ।

हिमालय जेटका प्रमुख फाइनान्स अफिसर एङ्गस स्कोएनबर्गले भनेः “हिमालय जेटको हवाई भाडा परम्परागत एयरलाइन्सको तुलनामा २०–३० प्रतिशत कम हुने अनुमान गरिएको छ किनभने यसको सिधा पोइन्ट–टु–पोइन्ट उडानहरू हुनेछन् । यो हिमालय क्षेत्रको पर्यटन विकासको लागि महत्त्वपूर्ण छ ।”


हिमालय जेटका प्रमुख प्राविधिक अधिकारी रोबिन डनलपले भने- ‘प्राविधिक दृष्टिकोणबाट हिमालय जेटले उड्डयन उद्योगमा नवीनतम र अत्याधुनिक प्रविधिहरूको प्रयोग गर्न सक्ने र सचेत रहन सक्ने भएकाले आफ्नो नयाँपनलाई सदुपयोग गरिरहेको छ। हिमालय जेटले सुरक्षा र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न तथा जलवायु परिवर्तनका लागि प्रविधिको व्यापक प्रयोग गर्नेछ ।”

जलवायु परिवर्तन फोरमद्वारा आयोजित ‘दिगो विकासका लागि विश्वव्यापी लगानी’ सम्मेलनले हिमालयन ग्लेशियरहरू पग्लिरहेको र त्यसको परिणामबारे पनि प्रकाश पारेको छ । सीसी फोरम र मिस वर्ल्डको विश्वव्यापी प्रभाव र दर्शकहरू छन् ।

यी कार्यक्रमहरूमा गुरुङ परिवारको संलग्नता र उपस्थितिले संकेत गरेअनुसार नेपाललगायत भारतीय उपमहाद्वीपमा यस्ता कार्यक्रम आयोजना गर्नु ऐतिहासिक मानिएको छ किनभने त्यस्ता कार्यक्रमले विश्वव्यापी दर्शकहरूलाई तानेर पर्यटन विकासमा मद्दत पुग्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू