शुक्रबार, कार्तिक ९, २०८१
20:32 | ०१:१७

खेन्पो शीर लामाले अल्डरसट गुम्बामा प्रवचन दिने

नेपाली लिङ्क अक्टोबर १९, २०२२


लण्डन । गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके गुम्बामा ञ्युङ्ने ब्रतबारे धार्मिक प्रवचन दिने भएका छन् । 

बीसीसी यूकेको विशेष अनुरोधमा हाल बेलायत भ्रमणमा रहेका खेन्पो शीर लामाले आउँदो २३ अक्टोबर आइतबार दिउँसो १ बजेबाट उक्त प्रवचन दिन लागेका हुन् । 

बौद्ध परम्परामा ञ्युङ्ने ब्रतलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । उक्त ब्रत बस्नले कल्पौंको पापशोधन र पून्य संचय हुनुका साथै सिंगो प्राणी जगतमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायू प्राप्त हुने विश्वास गरिन्छ । 

उक्त ब्रत के का लागि, कसका लागि, किन बसिन्छ र कसरी बस्नु पर्दछ भन्ने बारेमा खेन्पो शीर लामाले जानकारी गराउने छन् । 

सो अवसरमा बीसीसी यूकेले खेन्पो शीर लामालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको बीसीसी यूके महासचिव क्याप्टेन देब घलेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खेन्पो शीर लामाको स्वागत तथा सम्मान गरिने छ भने सो पश्चात प्रवचन हुने छ । 

त्यस्तै, उक्त दिन बीसीसी यूकेको निमन्त्रणामा सोमबार बेलायत आएका खेन्पो टासी छिरिङको औपचारिक रुपमा स्वागत र बीसीसी यूकेको निमन्त्रणामा गत जुनमा भुटानबाट बेलायत आएका खेन्पो केल्जङ दोर्जीको विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।  

बीसीसी यूकेका टुल्कु जिग्ने सामतेन, खेन्पो टासी छिरिङ र खेन्पो केल्जङ दोर्जीको समेत विशेष उपस्थिति रहने उक्त प्रवचन, स्वागत एवं बिदाइ कार्यक्रममा सहभागी भैदिन बीसीसी यूकेले ट्रष्टीज, लाइफ मेम्बर, आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुमा अनुरोध गरेको छ । 

उक्त दिन सहभागीलाई निःशुल्क जलपान, खाजा खानाको समेत प्रवन्ध मिलाइएको बीसीसी यूकेले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू