मंगलबार, मंसिर ११, २०८१
06:38 | १२:२३

सन् २०२२ मा ९ लाख बढी पर्यटक भित्रयाउने श्रीलंकाको योजना

रासस/सिन्ह्वा अक्टोबर ५, २०२२

कोलम्बो, १९ असोज –श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्य लिएको जनाएको छ ।

श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्य लिएको हो ।

प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलंकाले कम्तीमा नौ लाख ७२ हजार ४७५ पर्यटक भित्रयाउने लक्ष्य राखेको जानकारी दिए ।

उनले भने, “नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो नौ महिनाको आगमनको आँकडाबाट हामी खुसी छैनौं । यो एक क्रमिक निर्माण हो र वर्षको अन्त्यसम्ममा हामीले धेरैभन्दा धेरै पर्यटक भित्रयाउने योजनामा प्रतिवद्ध छौँ ।”

उनले सरकार र सरकारमातहतका निकायले सार्वजनिक तथा निजी सहकार्यलाई जोड दिँदै वर्षको बाँकी महिनामा विदेशी पर्यटकको चाप बढाउने प्रयास गरिरहेको पनि जनाए ।

श्रीलंकाका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भएपनि सेप्टेम्बरमा २९ हजार ८०२ विदेशी पर्यटकको मात्र आगमन भएको थियो । यहाँको राजनीतिक, आर्थिक संकट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ ।

पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा देश यस क्षेत्रका प्रतिस्पर्धीहरु भन्दा निकै पछाडि छ ।

माल्दिभ्सजस्ता प्रतिस्पर्धी मुलुकले विगत केही महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटक स्वागत गर्दै आएका छन् भने श्रीलंकामा ३० देखि ६० हजारसम्म पर्यटक आउने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

श्रीलंकाको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोतमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ महामारी र यसको आर्थिक तथा राजनीतिक संकटका कारण धरापमा परेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू