बुधबार, माघ २, २०८१
05:19 | ११:०४

ग्रीनवीचमा फुटबलसंगै नेपाली संगीत र खानाको महोत्सव

ग्रीनवीचकप बेजिङस्टोक नेप्लिज युथलाई

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२२

लन्डन-साउथ इष्ट लन्डनको वुल्लिचस्थित रोयल आर्टिलरी ब्यारेक ग्राउन्ड गत आइतबार साँचिक्कै नेपालमय बन्यो।

बिहान सबेरैदेखि शुरु भएको दशौँ ग्रीनवीच महोत्सवमा दिनभर गुञ्जिरहेको नेपाली संगीतले आसपासका गैरनेपाली समेतको ध्यान खिचिरहेको देखिन्थ्यो।

महोत्सवस्थलमा राखिएका खानाका स्टलहरुमा उपलब्ध मम, चाउमिनदेखि सेलरोटीसम्मका मौलिक नेपाली परिकारहरु कार्यक्रमका सहभागीले खुबै ‘इन्जोइ’ गरेका थिए।

महोत्सवको प्रमुख आकर्षण रहेको ग्रीनवीचकप फुटबल प्रतियोगितामा बेलायतभरका युवा तथा भेट्रान नेपाली खेलाडीहरुबीचको प्रतिस्पर्धा पनि खेलप्रेमीका लागि निकै रोचक थियो। 

नेप्लिज युथ एशोसिएसन यूकेद्वारा आयोजित महोत्सवलाई स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर लियो फ्लेचरले उद्घाटन गरेका थिए। महोत्सवले एकै ठाउँमा जुराएको नेपाली संगीत, खाना र फुटबलको अवसरमा रमाउन सयौंको संख्यामा नेपालीहरु भेला भएका थिए।

यस वर्षको ग्रीनवीचकप फुटबल प्रतियोगिता बेजिङस्टोक नेप्लिज युथ क्लबले जितेको छ। मुख्य विधामा सहभागी जम्मा १२ टोलीलाई पछि पार्दै विजेता बनेको बेजिङस्टोकले च्याम्पियन कपसँगै नगद १५ सय पाउन्ड र मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो।

मुख्य विधाको उपविजेता वीकेन्ड बोइज् क्लब नगद ९ सय पाउन्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कृत भयो।

विभिन्न चार टीम सहभागी भेट्रान विधामा नमोबुद्ध युनाइटेड विजेता र वेलिङ एफसी उपविजेता बने। उनीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

प्रतियोगिताका बेस्ट प्लेयरमा वीकेन्ड बोइज् क्लबका हरि गुरुङ र हाइ स्कोररका रुपमा बेजिङस्टोक नेप्लिज युथ क्लबका रोशन थामसुहाङ पुरस्कृत भए।


विजेताहरुलाई आयोजक नेप्लिज युथ एशोसिएसनका अध्यक्ष लछुमन गुरुङ, विशेष अतिथि काउन्सिलर जीत रानाभाट, एशोसिएसनका पूर्व अध्यक्ष ह्यारी गुरुङ, उपाध्यक्षहरु राजन खकुराल र डा सुदर्शन गुरुङ, सल्लाहकार श्रीचन्द्र गुरुङ, प्रसिद्ध प्रधान, देवेन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।

महोत्सवमा मनोरञ्जात्मक लाइभ संगीतको प्रस्तुतिले निकै रौनक थपेको थियो । नेपालबाट आएका कलाकारहरु राजन कार्की, रेशम निर्दोष, अनुपा मगर र विशाल रायमाझीका साथै स्थानीय दाजुभाइ ब्यान्डको प्रस्तुतिमा नेपाली संगीतका पारखीहरु झुमेका थिए।

मेलास्थलमा तमुधिं साउथ इष्टको सहयोगमा नेप्लिज नर्सिङ एशोसिएसन यूकेद्वारा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। कार्यक्रम हेर्न आएका स्थानीय ज्येष्ठ नागरिकहरुले शिबिरको लाभ लिए ।

त्यस्तै, सोही अवसरमा चिल्ड्रेन फन पार्कमार्फत् बालबालिकालाई पनि रमाउने अवसर मिलाइएको थियो। 

महोत्सवमा आकर्षक पुरस्कारसहितको राफल ड्र गराइएको थियो। जसमा पहिलो पुरस्कार वुल्लीच आर्सनल राइडर (वार) क्लबले प्रायोजन गरेको हाइब्रिड साइकल रेडिङवासी ब्यारिष्टर देवेन्द्र श्रेष्ठले जिते ।

सोही अवसरमा नेपाली युथ एशोसिएसनलाई विगत १० वर्षको अवधिमा विभिन्न माध्यमबाट सहयोग तथा योगदान गर्नेहरुलाई स्थानीय मेयरको हातबाट प्रशंसापत्र वितरण गरिएको थियो।

कार्यक्रममा एक हजार बढीको सहभागिता रहेको आयोजकले जनाएका छन्।

   

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू