बुधबार, माघ २, २०८१
06:21 | १२:०६

लण्डनमा साहित्य चौतारी यूकेको छैठौं वार्षिकोत्सव, कविता वाचन र कृतिमाथि चर्चा

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२२

लण्डन । साहित्य चौतारी यूकेको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । गत शनिबार, ३ सेप्टेम्बर २०२२ का दिन एक विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न भएको हो । 

साउथइष्ट लण्डनको बेक्स्लीहिथस्थित बेसक्याम्प लाउण्ज एण्ड रेस्टुरेण्ट हलमा कार्यक्रम गरिएको थियो ।

समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा बेक्स्ली काउन्सिलका मेयर निक ओहेर, मेयरेस न्याटाली फोर्ड, सांसद लुई फ्रेन्च, काउन्सिलर नाइजेल बेट्स्, काउन्सिलर स्टेभेन हल र ग्रिनविच काउन्सिलका काउन्सिलर एवम् साहित्य चौतारी यूकेका एक सक्रिय सदस्य जीत रानाभाट विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । 

समारोहमा विशेष वक्ताहरु डा. अशोक चापागाईं र डा. तेजेन्द्र फेराली, नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न पेशाका बुद्धिजीवीहरु, साहित्यकार एवम् साहित्यानुरागी व्यक्तित्वहरु एवम् साहित्य चौतारी यूकेका सदस्यहरु सहभागी थिए । 

करिव सात दर्जन सहभागी उपस्थित सो समारोहको अध्यक्षता साहित्य चौतारी यूकेका संस्थापक एवम् संयोजक साहित्यकार वासु शर्माले गरेका थिए । 


कार्यक्रम उद्घाटन प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य तथा विशिष्ट अतिथि मेयर निक ओहेरले पानसमा बत्ती बालेर संयुक्त रुपमा गरेका थिए भने उद्घाटन पश्चात राजदूत आचार्यद्वारा मायाको चिन्ह स्वरुप नेपाली ढाका टोपी मेयर ओहेरलाई प्रदान गरिएको थियो ।  

सो कार्यक्रमको विशेष आकर्षण चर्चित कवि तथा उपन्यासकार वासु शर्माले अंग्रेजी, नेपाली र हिन्दी तीन भाषामा प्रकाशित गरेको उपन्यास ‘बिजूवाः दि लस्ट टेल्स् फ्रम दि हिमालयज’ को परिचर्चा थियो । 

विशेष वक्ताहरु डा. अशोक चापागाईं र डा. तेजेन्द्र फेरालीले उपन्यासको विषयवस्तुको चर्चा गर्दै नेपालको प्राकृतिक सौन्दर्य, नेपाली जनजीवन, परम्परा, मिथक, दन्त्यकथाहरु समेतलाई समेटेर नेपाललाई चिनाउने प्रयत्न उपन्यासले गरेको बताए । 

किशोरावस्था देखि युवावस्थासम्मका पाठकलाई लक्षित गरी लेखिएको यो उपन्यास एक पठनीय कृति भएको वक्ताहरुले उल्लेख गरे । 

उपन्यास पढिसकेका ३ जना बाल पाठकहरु सक्षम पौडेल, इरेश गिरी र इनेश गिरीले पुस्तक पढ्दा रोचक अनुभव भएको सुनाए । 

कार्यक्रममा प्रमुख अतिथि राजदूत आचार्य, बेक्स्ली मेयर निक ओहेर, सांसद लुई फ्रेन्च, काउन्सिलर नाइजेल बेट्स्, काउन्सिलर स्टेभेन हल, ग्रिनविच काउन्सिलका काउन्सिलर एवम् साहित्य चौतारी यूकेका सक्रिय सदस्य जीत रानाभाटले दुई सय वर्ष बढी समय देखिको नेपाल–बेलायत कुटनीतिक सम्बन्ध, बेलायती समाजमा नेपाली समुदायको एकीकरण, बेलायतमा नेपालीहरुको योगदान, नेपाली समुदायका समस्याहरु र सम्भावनाका विविध विषयमा चर्चा गरेका थिए । 

कार्यक्रममा कविहरु विजय हितान, विनोद न्यौपाने र मञ्जु भण्डारीले कविता वाचन गरे । उक्त कार्यक्रम सञ्चालन कवि एवम् साहित्य चौतारी यूकेका सक्रिय सदस्य दिनेश पौड्यालले अङ्ग्रेजी माध्यमबाट गरेका थिए । 


कार्यक्रमको प्रारम्भिक सत्रमा गायक दिपक थापाले अतिथिहरुको स्वागतका लागि नेपाली गीत गाएका थिए भने कवि एवम् साहित्य चौतारी यूकेका एक सक्रिय सदस्य चन्द्र कार्कीले आमन्त्रित अतिथि र सहभागी साहित्यकार एवम् साहित्यानुरागीहरुलाई आयोजकको तर्फबाट स्वागत गरेका थिए । 

समारोहको अन्तमा बेसक्याम्प लाउण्ज एण्ड रेस्टुरेण्टका सञ्चालक विदित न्यौपानेका तर्फबाट सहभागीका लागि स्वादिष्ट नेपाली परिकारहरु समावेश भएको लन्च व्यवस्था गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू