मंगलबार, मंसिर ११, २०८१
10:39 | १६:२४

नेतृ सुकीलाई चुनाव धाँधलीको आरोप, तीन वर्ष जेल सजाय   

रासस-एएफपी सेप्टेम्बर २, २०२२

याङ्गुन । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टीले अत्याघिक बहुमतका साथ विजय प्राप्त गरेको थियो ।

सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नु पर्ने सजाय सुनाइएको स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ । भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो । सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई रोक लगाइएको छ ।

सुकीका वकिलहरुलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ । सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो ।

यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए । यद्यपी सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो । सो चुनावमा ११ लाख भन्दा बढी जालसाजीका घटनाहरू पत्ता लगाएको पनि सेनाको एकपक्षीय दाबी थियो ।

गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार संकटमा फसेको छ । देशको ठूलो हिस्सामा लडाइँ र अर्थतन्त्र खुम्चिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू