तीजको पूर्वसन्ध्यामा सिर्जनशिल लेष्टरको तीज उत्सव
लन्डन। बेलायतको लेष्टरस्थित सिर्जनशिल लेष्टर नेपालले एक भव्य कार्यक्रमसहित तीज पर्व मनाएको छ।
तीजको पूर्वसन्ध्यामा सोमबार बेलुका स्थानीय नटिङहम इम्पेरियल हलमा महिलाहरुलाई दरका साथै विविध सांस्कृतिक कार्यक्रमसहित नाचगान गरिएको छ।
संस्थाका अध्यक्ष नारायण फुँयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरुलाई निशुल्क दर खुवाइएको थियो। सो अवसरमा स्थानीयहरुको साथै नटिङहम, लिभरपुलसम्मका महिला उपस्थित थिए।
कार्यक्रममा नेपालबाट आएका गायक राजन कार्की र स्थानीय कलाकार राम बञ्जाडेले सांगीतिक प्रस्तुतिमार्फत् मनोरञ्जन दिलाए । सहभागीहरु राती अबेरसम्म तीजका भाकाहरुमा नाचगान गरेर रमाएका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष नारायण फुँयाल, प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, संस्थापक अध्यक्ष राजु कँडेल, नेपाली समाज नटिङहमका अध्यक्ष रविन्द्र शर्मा लगायतले मन्तव्य दिंदै तीजको शुभकामना दिएका थिए।
त्यस अवसरमा समाजका पूर्व अध्यक्षहरु बलराम चापागाई, पशुपति पोखरेल, साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आलेमगर, गुल्मी जिल्ला समाज यूके उपाध्यक्ष वरुण भन्डारी, एनआरएनए यूके कार्यसमिति सदस्य भानु घिमिरे लगायतको पनि उपस्थिति थियो।
कार्यक्रम सञ्चालन समाजका महासचिव पुण्डरी अर्यालले गरेका थिए भने स्वागत मन्तव्य सदस्य माया खरेल प्रधानले दिएकी थिइन् ।
कार्यसमिति सचिवद्धय लक्ष्मण गौतम ‘धन्तरी’ र शिव पराजुलीले संयोजनमा भूमिका खेलेका थिए। कोषाध्यक्ष मधुसुधन पौडेलसहित कार्यक्रमसमितिका पदाधिकारीले विभिन्न जिम्मेवारी सम्हालेका थिए।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष नारायण फुँयालको जन्मदिनको अवसरमा बर्थडे केक काटेर मनाइएको थियो।