नाइजेरियामा ५७ आतंककारी मारिए
अबुजा, १० भदौ –नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतंवादविरुद्धको कारबाहीमा परी कम्तीमा ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।
गएको दुई हप्तायता सो क्षेत्रमा सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।
नाइजेरियाली सेनाका प्रवक्ता मुसा दनमादानीले सो जानकारी दिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सेनाले हवाई तथा स्थलगत कारबाही गरेको थियो ।
उक्त कारबाही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाकु मारिएका हुन् । उनीहरुले बोर्नो र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो ।
त्यस कारबाहीका क्रममा यहाँका एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए ।
उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नो प्रान्तमा बोको हरामका लडाकाहरुको प्रभाव रहेको मानिन्छ ।