शनिबार, मंसिर १५, २०८१
06:42 | १२:२७

काठमाडौंमा अवैध संरचना भत्काउन डोजर चल्यो

रासस अगस्ट २४, २०२२

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित आरवि कम्पेक्समा बनेको अनधिकृत संरचना हटाउदै । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरिएपनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो ।

उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ ।

कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए ।

सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा आज डोजर लगाएर भत्काइएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने दरबार मार्गमा पनि केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ ।

त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, “अब विगतमा झैं मनोमानी चल्दैन, यस कार्य नियमित रुपमा जानेछन् ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू