शनिबार, मंसिर १५, २०८१
05:46 | ११:३१

राष्ट्रिय फोटो पत्रकार समूहले अवार्ड प्रदान गर्ने

रासस अगस्ट १९, २०२२

काठमाडौँ–राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ ।

एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा विविध कार्यक्रम गर्ने भएको हो ।
असोज ६ गते  काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्वअध्यक्षद्वयले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै नेपालमा फोटो पत्रकारितामा भोग्नुपरेका समस्याबारे चर्चा गरेका थिए । उक्त दिवसका अवसरमा समूहका महासचिव नवराज श्रेष्ठले नयाँ तथा पुराना फोटो पत्रकारलाई १६ विधामा अवार्ड प्रदान गरिने जानकारी गराए ।
विशेष समारोहमा संस्थापक सदस्यलगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गरिने  कार्यक्रम रहेको उनले बताए ।
उक्त अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको छ ।
लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु ५० हजार प्रदान गरिनुका साथै दैनिक जीवन, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति, आर्थिक, राजनैतिक, मनोरञ्जन, खेलकुद, स्वतन्त्र फोटोसंग सम्बन्धित अवार्ड छन् ।
यसैगरी सातवटै प्रदेशबाट एक-एक उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड प्रदान तथा सम्मान गरिने कार्यक्रम रहेको समूहले जनाएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्षलगायत सल्लाहाकार र कार्यक्रम संयोजकलगायत बढीमा पाँच जनाको छनोट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका अध्यक्ष वन्तले जानकारी दिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू