बुधबार, माघ २, २०८१
10:14 | १५:५९

चार्ल्टनमा अगस्ट २१ मा तीज कार्यक्रम, सामूहिक दर र नाचगान गरिने

नेपाली लिङ्क अगस्ट १७, २०२२

लन्डन-चार्ल्टन नेपाली समाज यूकेले विगत जस्तै यस वर्ष पनि तीज पर्वको अवसरमा सामूहिक दर तथा नाचगान कार्यक्रम गर्ने भएको छ।

यही अगस्ट २१ आइतबार साँझ ६ देखि बेलुका ११ बजेसम्म स्थानीय मेरिडियन स्पोर्टस् क्लबको हलमा हरितालिका तीज विशेष कार्यक्रम गर्न लागिएको हो।

समाजका उपाध्यक्ष प्रकाश कंडेलका अनुसार कार्यक्रममा महिलाहरुका लागि सामूहिक दरका साथै तीजको नाचगान गरिनेछ।

तीज गीत र डिजे डान्ससँगै केही चर्चित कलाकारको प्रस्तुति पनि गराउने तयारी रहेपनि कुन कुन कलाकार ल्याउने भन्ने टुंगो लाग्न बाँकी रहेको कंडेलले बताए।

कार्यक्रममा टिकट शुल्क १२ पाउन्ड छ भने महिलाको लागि सहुलियतसहित १० पाउन्ड मात्रै लिने जनाइएको छ। त्यस्तै, पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई ५ पाउन्ड मात्रै लाग्नेछ।

कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ पनि गराइनेछ। सहभागीका लागि पिउने पानी उपाध्यक्ष प्रकाश कंडेलले तथा टिकट अध्यक्ष रेखा खरेल र संस्थापक अध्यक्ष सुरज केसीले प्रायोजन गरेका छन्।  

समाजकी अध्यक्ष रेखा खरेलले महिलाहरुको महान पर्व तीजको अवसरमा सबै दिदीबहिनी जम्मा भएर संगसंगै दर खाने र रमाइलो नाचगान गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको बताइन्। उनले स्थानीय सबै नेपाली महिलाहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेकी छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू