बिसीसी यूके चिल्ड्रेन समर क्याम्प गर्दै
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले ३ दिने ‘चिल्ड्रेन समर क्याम्प’ गर्ने भएको छ । २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प गर्न लागिएको हो ।
विशेषगरी बेलायतमा रहेका नेपाली बालबालिकालाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायत विषयमा जानकारी गराउने उद्देश्यका साथ सो कार्यक्रम गर्न लागिएको बिसीसी यूकेका प्रमुख सल्लाहकार एवं समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए ।
उनका अनुसार समर क्याम्पमा भाग लिन आउने बालबालिकालाई बिसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जेङ्ग, लोपन नोर्बुलगायत बिसीसी यूके पदाधिकारीहरुले विभिन्न विषयमा जानकारी गराउने कार्यक्रम छ ।
बिसीसी यूकेले गतबर्ष २०२१ अगष्टमा पहिलोपटक आयोजना गरेको ३ दिने समर क्याम्पमा २७ जना बालबालिकाले भाग लिएका थिए ।
उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाले बौद्ध दर्शन, मेडिटेशन, योगालगायत विषयमा जानकारी गराउन सफल भएको कार्यक्रम संयोजक मेजर गुरुङले जानकारी गराउँदै यसपटकको क्याम्पबाट समेत उल्लेख्य बालबालिकाले बौद्ध दर्शनबारे जानकारी लिने विश्वास व्यक्त गरे ।
क्याम्पमा बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रत्येक दिन बालबालिकाहरुलाई बौद्ध शिक्षासंगै मनोरञ्जनात्मक खेल समेत खेलाइने छ ।
बिसीसी यूकेले अभिभावकहरुलाई क्याम्पमा आफ्ना सन्तान पठाउन इच्छुक भए गुम्बामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
-पूर्ण गुरुङ