शनिबार, मंसिर १५, २०८१
05:45 | ११:३०

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

रासस अगस्ट ११, २०२२

काठमाडौं-पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई पनि चुनावी तालमेलको आधार मान्न सकिने विषयमा समेत छलफल भएको थियो ।

कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ ।

यसबाहेक बैठकमा संविधान कार्यान्वयन, लोकतन्त्र र राजनीतिक प्रणालीको रक्षा, जनजीविकाका सवाल सम्बोधनलगायत विषयमा गठबन्धन केन्द्रित हुनुपर्ने विषयमा बृहतरूपमा छलफल भएको उनले बताए ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेता रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । कार्यदलको अर्को बैठक यही साउन ३० गते बस्ने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू