म्यान्मामा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि
जेनेभा, २४ साउन –म्यान्मामा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको आज यहाँ सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्रले करिब दुईसय स्रोतबाट संकलन गरेको ३० लाखभन्दा बढी सूचनालाई समेटेर तयार गरिएको राष्ट्रसंघीय वार्षिक प्रतिवेदनमा बलात्कार तथा अन्य प्रकारका यौन हिंसालगायत यौन र लैङ्गिक अपराध र बालबालिकाविरुद्धका अपराधहरू सुरक्षा बल र सशस्त्र समूहका सदस्यले गरेका देखाइएको छ ।
प्रतिवेदनअनुसार सेनाले शासन हत्याएपछि म्यान्माका बालबालिकालाई उनीहरूका आमाबाबुले पाउनुपर्ने सजाय उनीहरूलाई दिइएको भन्दै चरम यातनाको शिकार बनाइएको र मनमानी रूपमा हिरासतमा राखिएको, आम नागरिकविरुद्ध व्यापक एवम् व्यवस्थितरूपमा आक्रमण गरिएको, हालै चारजनालाई मृत्युदण्ड दिइएकोलगायत गम्भीर मानवअधिकार उल्लंघनका घटना भएका छन् ।
संयन्त्रले तीन वर्ष लगाएर सङ्कलन गरेको सूचना र प्रमाणमा अन्तर्वार्ता, सर्वसाधारणका कथन, लिखित दस्तावेज, भिडियो, तस्बिर र सामाजिक सञ्जालबाट सार्वजनिक भएका सामग्री प्रतिवेदनमा समावेश गरिएका छन् ।
महिला र बालबालिका विरुद्धका अपराधहरू गम्भीर अन्तर्राष्ट्रिय अपराध हुन् भन्दै संयन्त्रका प्रमुख निकोलस कोउमजियानले म्यान्मामा जारी हिंसाले न्याय र जवाफदेहितालाई सहज बनाउन तथा थप अत्याचार हुन नदिन प्रतिवेदनले सघाउने विश्वास व्यक्त गरेका छन् ।
रोहिंग्याहरूले निरन्तर झेल्नुपरेको दुर्दशा, अपराधका दोषीहरूमाथिको कारबाही, दण्डहीनताको अन्त्यमा पनि उनले जोड दिएका छन् । संकलित प्रमाणको संरक्षण गर्ने बताउँदै उनले त्यसका आधारमा दोषीलाई कारबाही गर्नुपर्ने बताए ।