मंगलबार, मंसिर ११, २०८१
16:15 | २२:००

एनआरएन बैंकक सम्मेलन पर्यटन तथा लगानीमा केन्द्रित

नेपाली लिङ्क अगस्ट ९, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले सम्वोधन गर्ने भएका छन् । मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ ।

अगस्ट २६ देखि २८ सम्म बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रम मन्त्री शेरबहादुर कुंवर, नेकपा एमाले सांसद तथा नेता डा. सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए ।

सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।

संघका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा भाग लिन जानेहरुले छिटो भन्दा छिटो होटल बुकिङ गर्न आग्रह गरेका छन् । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको बस्नेतले जानकारी दिए ।

५० भन्दा बढी वक्ता रहने सो सम्मेलन गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रित हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।

सो सम्मेलनमा बिभिन्न विषयगत विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आ-आफ्नो प्रस्तुति दिने छन् ।

कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त नेपालका चर्चित गायक कुमार पुन, हास्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू