मंगलबार, मंसिर ११, २०८१
15:27 | २१:१२

विदेशमा रहेका नेपालीको  मताधिकारबारे छलफल जारी छ: अध्यक्ष दाहाल   

रासस अगस्ट ६, २०२२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन् ।

जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल, २०२२’ उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए । 

उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताए । 

नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उनले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिए । 

नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुरयाएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद दिए । 

दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुरयाउन आफ्नो भ्रमण केन्द्रित रहने उनले विश्वास व्यक्त गरे । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गरे । 

आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताए । 

पाँचदिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल आज त्यहाँ पुगेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू