अल्डरसटको बिसीसी गुम्बामा कोभिडपछि पहिलोपटक छ्योखोर दुचेन पूजा
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन) अर्थात् ठुक्पा छेश्यी) को अवसरमा बिशेष पूजा आयोजना गरेको छ ।
सोमबार १ अगष्टका दिन विविध कार्यक्रमका साथ बिसीसी यूकेको अल्डररसटस्थित गुम्बामा पूजा गरिएको हो ।
काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ खेन् रिन्पोछे घ्युर्मी छुल्टिमको प्रमुख आतिथ्यमा सम्पन्न पूजामा बिसीसी यूकेका खेन्पो केल्जङ्ग, लोपेन नोर्बु, धरान गुम्बाका लोपेन नरेश गुरुङलगायत धर्म गुरुहरुले पूजापाठ गरेका थिए ।
उक्त पूजामा बिसीसी यूकेका सल्लाहकार जंगबहादुर गुरुङ, सानु लामालगायत आमाहरुले सहयोग गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि खेन् रिन्पोछे छुल्टिम गुरुले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुद), धर्म चक्र प्रवर्धनबारे प्रवचन दिएका थिए । त्यस्तै, छुल्टिम गुरुलगायतका धर्मगुरुहरुले धनचक्र (छोक) पूजा, दिपप्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पूजाहरु गरेका थिए ।
कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले प्रमुख अतिथि छुल्टिम गुरुको जीवनीलाई संक्षिप्त रुपमा जानकारी गराउँदै उपस्थितिका लागि प्रमुख गुरुलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी एवं सदस्य, विबिसी युकेका पदाधिकारी, लामागुरुहरु, भोजनदातालगायत उपस्थित भक्तजनहरुलाई धन्यवाद दिए ।
उनले विभिन्न संघसंस्था, सहयोगदाता, सिंगो कार्यसमिति, भक्तजनहरुलगायतको साथ र सहयोगले बिसीसी यूकेले विभिन्न धार्मिक एवं च्यारिटीमूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताउँदै पुनः सबैप्रति धन्यवाद दिए ।
शेर्पा एशोसिएशन यूके अध्यक्ष समेत रहेका बिसीसी यूकेका उपाध्यक्ष एवं उक्त दुचेन कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले नेपालबाट आएका खेन् रिन्पोछे छुल्टिम लगायत अतिथि गुरुहरु, विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारी, भोजनदाता लगायत उपस्थित सबैलाई स्वागत गरेका थिए । उनले भोजन दान, चियापानी, खाजा, बत्ति, गुरु दक्षिणालगायतको दान गर्नुहुने सबै भक्तजनहरुप्रति धन्यवाद ज्ञापन गरे ।
दीप प्रज्ज्वलन र धर्म चक्र (छ्योखोर) नृत्य समेत गरिएको पूजामा तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, शेर्पा एशोसिएशन यूकेका महासचिव रेन्जी शेर्पा, ह्याल्मो समाज यूकेका महासचिव दोर्जे डन्डुल, थाउजङ्ग बुद्ध रेडिङका अध्यक्ष मेजर समुन्द्र गुरुङ, मनेपा रेडिङकी दिलु गुरुङ, बिसीसी लण्डन ब्रान्च आमा अध्यक्ष दिलमाया गुरुङलगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रममा बिसीसी यूकेको नयाँ ट्रष्टी बनेका सदस्य, यसभन्दा अघिल्लो दुचेन कार्यक्रममा भोजन दानलगायतमा सहयोग गरेका सहयोगदाताहरुलाई प्रसंशा प्रदान गरिएको थियो ।
प्रत्येक बर्ष छ्योखोर दुचेनको अवसरमा बेलायतस्थित बौद्ध धर्मवालम्वीहरुको उल्लेख्य उपस्थितिमा बिशेष पूजापाठ गर्दै आएकोमा कोभिड–१९ का कारण गत दुईबर्ष भएको थिएन ।
यसपटक कोभिड–१९ पश्चात पहिलोपटक आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बिसीसी यूकेका संस्थापक अध्यक्ष ले. काजी शेर्पा, पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, निवर्तमान अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङलगायत बिसीसी युकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।
बिसीसी यूकेका अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव क्याप्टेन देव घलेले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस्, बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा सम्वर्धन, च्यारिटीमूलक कार्य, बौद्ध शिक्षा प्रवर्धनलगायत उद्देश्यका साथ स्थापना भएको बिसीसी यूकेले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।