बुधबार, मंसिर १२, २०८१
18:20 | ००:०५

युक्रेनी युद्धबन्दीमाथिको आक्रमण छानबिन गर्न राष्ट्रसंघलाई आमन्त्रण

रासस/एएनआई जुलाइ ३१, २०२२

मस्को, १५ साउन–रूसले युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक अवस्थित सोधपुछ तथा हिरासत केन्द्रमा उच्चप्रविधियुक्त रकेट प्रणालीबाट गरिएको आक्रमणमा परी ५३ जना युक्रेनी युद्धबन्दीको मृत्युभएको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ ।

येलेनोभकामा सोधपुछ तथा हिरासत केन्द्रमा भएको आक्रमणको वस्तुनिष्ठ अनुसन्धान गर्न रूसी महासङ्घले औपचारिक रूपमा संयुक्त राष्ट्रसंघ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई आमन्त्रण गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी युद्धबन्दीलाई राखिएको ओलेनिभकाको हिरासतमा शुक्रबार बिहान युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको ‘हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम’ का साथ गोलाबारी गरेको थियो । उक्त आक्रमणमा ४० युक्रेनी युद्धबन्दी मारिएका थिए भने ७५ जना घाइते भएका थिए । हिरासत केन्द्रका आठ कर्मचारीलाई पनि गम्भीर चोट लागेको थियो ।

रूसको क्षेत्रीय रक्षा निकायले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार उक्त आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने एकसय ३० जनाभन्दा बढी घाइते भएका छन् ।

रूसी रक्षामन्त्रालयले युक्रेनी आक्रमणलाई पूर्वनियोजित उत्तेजक काम भन्दै आफ्नो फौजले आत्मसमर्पण गर्न खोजेकाले उनीहरूलाई तर्साउन आक्रमण गरिएको बताएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले घाइतेहरूको उद्धारमा सघाउने बताएको छ । संयुक्त राष्ट्रसंघले पनि उक्त आक्रमण अनुसन्धान गर्न भएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकले त्यसको पुष्टि गरेका छन् ।

डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रले आफ्नो रक्षा गर्न मद्दतको लागि रूससँग अनुरोध गरेपछि फेब्रुवरी २४ मा मस्कोले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो । उसले किएभविरुद्ध थालेको सैन्य कारबाही युक्रेनी सैन्य पूर्वाधारमा मात्र लक्ष्यित रहेको र सर्वसाधारण युक्रेनी त्यसको जोखिममा नरहेका दाबी गर्दै आएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले सुरक्षा परिषद्को शुक्रबारको बैठकमा विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी थिइन् ।

उनले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर रूसले त्यसको आधार निर्माण गरिरहेको पनि उल्लेख गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू