बुधबार, माघ २, २०८१
16:17 | २२:०२

‘टिओआर’ र वार्ता मिति नतोकिए अब दूतावासबाटै कठोर आन्दोलन थाल्ने गोर्खाहरुको चेतावनी

नेपाली लिङ्क जुलाइ २८, २०२२

दूतावास भवन अगाडि भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिहरु

लन्डन । भूतपूर्व गोर्खाहरुले यही सोमबारसम्म बेलायत र नेपाल सरकारबीच हुने वार्ताको टर्म्स अफ रिफरेन्स (टिओआर) र वार्ता मिति नतोकिए दूतावासबाटै कठोर आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

बिहीबार बिहान लन्डनस्थित नेपाली दूतावास पुगेका भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिहरुले राजदूत ज्ञानचन्द्र आचार्यसमक्ष आक्रोशमात्र पोखेनन्, नयां चरणको आन्दोलन थाल्ने चेतावनी समेत दिए ।

भावी आन्दोलन कठोर र भोक हड्ताल नै हुने चेतावनी दिंदै भूतपूर्व गोर्खाहरुले त्यो आन्दोलन राजदूतावासबाटै हुने चेतावनी दिएका छन् ।

‘त्यस्तो अप्रिय आन्दोलन गर्दा कुनै दुर्घटना भए नेपाल सरकारले जिम्मेवार लिनु पर्छ’, केही महिनाअघि बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्ताल बसेका धन गुरुङले चेतावनी दिंदै भने, ‘हामीले धेरै धैर्य गरौं । विभिन्न बहानामा वार्ता प्रक्रिया अगाडि नबढ्दा अब अन्तिम आन्दोलनको विकल्प रहेन ।’

त्रिपक्षीय वार्ता प्रक्रिया ढिलाइ भइरहंदा नेपाल सरकारका तर्फबाट वार्ता संयोजक तोकिएका 
राजदूत आचार्यले ब्रिटिश सरकारसंग यथेष्ट पहल गर्न नसकेको आरोप गोर्खाहरुले लगाएका छन् ।

राजदूतले वार्ताको टिओआर बैठक र मिति छिट्टै तोकिने भनेर बेलायतले पत्र पठाएको बताएपनि राजदूतले पत्र नदेखाउंदा आफूहरुलाई शंका लागेको गोर्खाहरुको भनाइ छ ।

‘ब्रिटिशले हामी गोर्खाहरुलाई त अन्याय गरयो गरयो । सार्वभौम नेपाललाई समेत हेप्यो । राजदूतलाई पनि टेरेन’, दूतावास पुगेका सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले राजदूतसमक्ष भने, ‘तपाईं (राजदूत) वार्ताको कोशिस गर्दैछु मात्र भन्नुहुन्छ । समस्या के छ र किन ढिलाइ भइरहेको छ भन्नुहुन्न । तपाईंका कुरा नसुनेर ब्रिटिशले हेपेको होइन र ? बेलायतले यस्तो व्यवहार गर्दा तपाईंको चित्त दुख्दैन ?’

राजदूत आचार्यले रुस युक्रेन युद्ध, बेलायती राजनीतिक अस्थिरता (प्रधानमन्त्रीको राजिनामा) लगायत कारणले केही ढिलाइ भएपनि आफ्नो तर्फबाट पहल भइरहेको भनेर आश्वस्त पारेका थिए । यद्यपि गोर्खाहरु छिट्टै वार्ता हुनेमा विश्वस्त छैनन् ।

उक्त प्रतिनिधिमण्डलमा सत्याग्रह, गेसो, बिजिडब्लुएस्, नेसा, गोर्खा जस्टिस ग्रुप लगायतका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू