‘एज ब्याण्ड’ भोलि लण्डन उत्रंदै, २९ जुलाईदेखि बेलायतमा कन्सर्ट
लन्डन । युवाहरुको ढुकढुकी ‘एज ब्याण्ड’ बेलायतमा कन्सर्ट गर्न भोलि लण्डन उत्रदैं छ । अर्का चर्चित गायक राजु लामा पनि लण्डन आउने भएका छन् ।
एज ब्याण्ड र राजु लामाको संयुक्त कन्सर्ट यही २९ जुलाईमा ह्यारो लिजर सेन्टर लण्डन, ३० जुलाईमा पावर लाउन्ज स्वीन्डन र ३१ जुलाईमा अल्डरसटस्थित कल्चर स्पोर्टस बार एन्ड नाइट क्लवमा हुने तयारी गरिएको आयोजक एचके इन्टरटेनमेन्टका सुवास गुरुङले जानकारी दिए । साथमा सिक्का र भक्त ब्यान्डको प्रस्तुति पनि रहने छ ।
उक्त कन्सर्ट महामारीपछि बेलायतमा नेपाली समुदायले गर्ने सबैभन्दा ठूलो हुने आयोजकले बताएका छन् ।
साँझ ६ बजे देखि शुरु हुने सबै शो सृजना गुरुङ र दुर्गा गुरुङले होस्ट गर्दै छन् । टिकट मूल्य ३० पाउन्ड छ ।
यसअघि वेष्ट लन्डनको इलेक्ट्रिक ब्रिक्सटनमा निर्धारित कन्सर्ट कलाकारहरुको भिजा ढिलाइले रद्द भएर नयाँ भेन्यूमा गर्न लागिएको हो ।
कार्यक्रम आयोजकले नेपाली दर्शकलाई भरपुर मनोरन्जन दिन आतुर रहेको बताएका छन् । कन्सर्टबाट सन्चित केही रकम च्यारिटीलाई प्रदान गरिने छ ।
शुरुमा हङकङमा स्थापना भएको एच के इन्टरटेन्मेन्ट बेलायतमा व्यवसायिक सांगीतिक कार्यक्रम गर्ने युवाहरुको संस्था हो ।