बिसीसी गुम्बा छ्योखोर दुचेन पूजा गर्दै
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले छ्योखोर दुचेन पूजा गर्ने भएको छ ।
बुद्धका चार मुख्य तिथी मध्येको एक छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी तिथी आउँदो १ अगष्ट सोमबार पर्न गएकोले उक्त दिन ढुछेन पूजा गर्न लागिएको हो ।
उक्त दिन भगवान बुद्धले चार आर्य सत्यको बारे धर्मचक्र प्रवर्तन गरेको महान तिथी भएकोले पनि बौद्ध धर्मवालम्वीहरुले विशेष पूजापाठ गर्दै आएका छन् ।
सोही अनुसार अल्डरसटस्थित बिसीसी यूके गुम्बाले पनि विगत केही बर्षदेखि उक्त पूजा आयोजना गर्दै आएको भएपनि कोभिड–१९ पश्चात पहिलोपटक आयोजना गरिएको हो ।
बेलायतस्थित बौद्ध धर्ममा आस्थावान नेपाली संघसंस्थाहरुको समेत सहभागिता र सहयोगमा अगष्ट १ बिहान १० बजेदेखि अल्डरसटस्थित बिसीसी गुम्बामा उक्त पूजा शुरु हुने छ ।
उक्त पुजामा काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ खेन् रिन्पोछे घ्युर्मी छुल्टिम गुरुको विशेष सहभागिता रहने छ ।
त्यस्तै, बिसीसी गुम्बाका खेन्पो केल्जेङ्ग, लोपेन नोर्बुलगायत धर्म गुरुहरुको सहभागिता रहने बिसीसी यूकेका उपाध्यक्ष एवं उक्त कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले जानकारी गराए ।
उनका अनुसार उक्त तीथिमा छोक पूजा, मर्मे पाठ, मलम पाठ, छ्योखोर नाच, दीप प्रज्ज्वलन, प्रवचन लगायतका धार्मिक कार्यक्रमहरु दिनभर हुने छ ।
साथै, उपाध्यक्ष शेर्पाले उक्त पुण्य तिथीको अवसरमा भोजन दान, चियापानी, खाजा, बत्ति, गुरु दक्षिणालगायतको दान गर्न सकिने बताउँदै इच्छुक दानवीरहरुले बिसीसी यूके अल्डरसट गुम्बा वा सिधै आफूलाई सम्पर्क अनुरोध गरेका छन् ।
बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा सम्वर्धन, च्यारिटीमूलक कार्य, बौद्ध शिक्षा प्रवर्धनलगायत उद्देश्यका साथ स्थापना भएको बिसीसी यूकेले विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
सोही अनुरुप यसपटक १ अगष्टका दिन आयोजना गर्न लागिएको छ्योखोर दुचेन पूजामा उपस्थितिका लागि कार्यक्रम संयोजक शेर्पाले बेलायतमा बसोबास गर्ने सम्पूर्ण बौद्ध धर्मवालम्वीहरुमा हार्दिक अनुरोध गरेका छन् ।