लन्डनमा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम
लन्डन । बेलायती इतिहासमै योपटक यहाँ सबैभन्दा बढी तापक्रम हुने बताइएको छ । आउँदो सोमबार र मंगलबार लन्डन आसपासका क्षेत्रमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरुले बताएका छन् ।
अत्यधिक तापक्रमका कारण हुने मृत्यु कम गर्न सबैलाई सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।
सोमबार र मंगलबार लन्डन, म्यानचेष्टर र योर्कलगायतका क्षेत्रमा मेट अफिसले ‘रेड अलर्ट’ चेतावनी जारी गरेको छ । मौसम भविष्यवाणी प्रविधि स्थापना भएयता यो नै पहिलोपल्ट अत्यधिक गर्मीको चेतावनी जारी गरिएको मेट अफिसले उल्लेख गरेको छ ।
मानिसहरुले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउनसक्ने, मोबाइल फोन नेटवर्कमा समस्या तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाई हुनसक्ने चेतावनी जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ ।
बेलायतमा पहिलोपटक ‘रेड अलर्ट’ जारी गरिएको छ भने राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । गर्मीका कारण धेरै मानिसहरुको मृत्यु हुन सक्ने अनुमान गरिएपनि वास्तविक आंकडा दिन भने यूके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख वैज्ञानिक प्रोफेशर ओलिभरले अस्विकार गरेका छन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटमा आज आपतकालीन कोब्रा बैठक भएको छ ।