एनआरएनए माग समेटेर नागरिकता विधेयक अघि बढाइएको देउवाको आश्वासन
काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को माग समेत समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्षद्वय कुल आचार्य र डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुने प्रधानमन्त्री देउवाले आश्वस्त गराए ।
उक्त अवसरमा संघका अध्यक्ष आचार्यलगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमका लागि धन्यवाद प्रकट गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा संघको तर्फबाट युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसी सदस्य पशुपति भण्डारी लगायत प्रतिनिधि सहभागी थिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमति बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको हो ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका तीन जना सांसदले अगाडि नबढाउन माग गर्दै विरोधको सूचना दर्ता गरेपनि उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो ।