शनिबार, मंसिर १५, २०८१
00:38
|
०६:२३
चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको प्रतिवद्धता
रासस
जुलाइ १२, २०२२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
भट्टराईले भने, “पछिल्लो समयमा नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा आएको बदलाबकाबारेमा पनि कुराकानी भयो, चीन नेपालसँगको पुरानो सम्बन्धलाई कायम राख्दै मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउन चाहन्छ भन्ने कुरा चिनियाँ पक्षबाट आएको छ ।”
नेपाल र चीनले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बारेमा छलफल भएको भन्दै विदेश विभाग प्रमुख भट्टराईले चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको बताए । नेपाल चीनका लागि एक महत्वपूर्ण र भरपर्दो साझेदारको रुपमा चीनले लिँदै आएको कुरा लिउले उल्लेख गरे ।
छलफलमा नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहनाप्रति एमाले अध्यक्ष ओलीले नेपाली भूमि कुनै हालतमा चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको जानकारी दिए । भट्टराईले भने, “नेपालले अरु राष्ट्रसँग कस्तो सम्बन्ध राख्छ, त्यसमा चीनले चासो राख्दैन, तर चीनसँग नेपालको जुन सम्बन्ध विगतमा थियो, त्यो सम्बन्ध निरन्तर रहन्छ भन्ने चीनको नीतिबारे प्रष्ट पार्नुभयो ।”
चीनको कम्युनिष्ट पार्टीले चीनको हितमा काम गर्ने र नेपालको कम्युनिष्ट पार्टीले नेपालको हितमा काम गर्ने भएकाले यहाँका कम्युनिष्ट पार्टीलाई चीनले यसो गर उसो गर नभन्ने चीनको धारणा रहेको भट्टराईले बताए ।
भेटवार्तामा अध्यक्ष ओलीसँग नेताहरु प्रदीप ज्ञवाली, विष्णु रिमाल र भट्टराईलगायत सहभागी थिए ।
अध्यक्ष नेपालसँग लिउ जियानचाओको भेट
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् । नयाँ बानेश्वरस्थित एक होटलमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कसरी नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको बताए । अध्यक्ष नेपालले चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताए ।
दुवै देशका राजनीतिकलगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने सिपिसीका विदेश विभाग प्रमुख जियानचाओले विचार व्यक्त गरेको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताइएको छ ।
सो अवसरमा नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गंगालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वालालगायत नेता सहभागी थिए ।
चार दिने नेपाल भ्रमणको क्रममा लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५