बुधबार, मंसिर १२, २०८१
22:14 | ०३:५९

निसास्सिएर ४६ आप्रवासीको मृत्यु

रासस-एएनआई जुन २८, २०२२

सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घट्नालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् । तस्बिर एपी

वासिङटन, १४ असार–टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । यद्यपि उनीहरूको मृत्यु निसास्सिएर भएको पुष्टि भएको छैन ।

मेक्सिकोका आप्रवासी ट्रकमा निसास्सिएर मरेका अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो । आद्र्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ ।

सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार साँझ घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् । उनले मृतकहरू मेक्सीकोका नागरिक भए नभएको यकिन नभएको पनि बताए ।

सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घट्नालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् । गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो । ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा लाश मात्र देखिएको पनि उनीहरूले जनाएका छन् ।

मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू