नेपलिज सेफ एसोसिएसन यूकेको २७ जुनमा हुने अधिवेशन तयारी तीव्र
लन्डन । नेपलिज सेफ एसोसिएसन यूकेको २७ जुनमा हुन लागेको अधिवेशन तयारी तीव्र भएको छ ।
ब्लू रुम स्पोर्टस भेन्यूमा अपरान्ह ४ बजेदेखि हुने उक्त अधिवेशनले नयां नेतृत्व घोषणा गर्नेछ ।
अधिवेशन उद्घाटन समारोहमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्य एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यसहित बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि र नेपाली राष्ट्रिय कलाकारहरु सहभागी हुने अध्यक्ष दधि आचार्यले जनाए ।
बेलायतस्थित नेपाली सेफहरुले अधिवेशनलाई कोभिड पछिको भव्य पारिवारिक जमघटका रुपमा मनाउने तयारी गरेका छन् ।
संस्थाको नयां कार्यसमिति चयनका लागि सोलिसिटर राजु थापालाई निर्वाचन संयोजकको जिम्मेवारी छ । एसोसिएसनले सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना छ ।
सन् २०१२ मा समाजसेवी कृष्ण तिमल्सेनाको अगुवाइमा स्थापित उक्त संस्थाले बेलायतमा रहेका नेपाली सेफहरुलाई एकतावद्ध गरि उनीहरुका हकहित एवं नेपालमा परोपकारी कार्य गर्दै आएको छ ।
संस्थाले धादिङको निलकण्ठ १४ स्थित तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि १० लाख रुपैंया पठाएको थियो भने कोभिड महामारीका बेला अक्सिजन कन्सन्ट्रेटर किन्न पनि सहयोग गरेको थियो ।